अस्ट्रेलिया, ११ असोज । नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडिएफ)ले सीड्नीमा एक बिशेष कार्यक्रम बिच अन्तरक्रिया सहित कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेसका पूर्व सचेतक तथा जलश्रोत बिशेषज्ञ लक्ष्मण घिमिरे र पर्वतका काँग्रेसका नेता नवराज गुरुङको उपस्थितिमा आयोजित कार्यक्रममा संविधान कार्यान्वयनमा देखिएका जटिलताका बिषयमा बक्ताहरुले बोलेका थिए ।
अठार बर्षअघि सीड्नीमा प्रजातन्त्रबादीहरुले खोलेको यो संगठनले आफ्नो पद हस्तान्तरण कार्यक्रममा एनएडीएफले मुलुकको संविधानसँग जोडेर अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा नेता लक्ष्मण घिमिरेले भने, “०६२/६३ को जन आन्दोलनले संघियता र धर्मनिरपेक्षताको माग गरेको थिएन । यी दुवै कुरापछि नेपाली जनतामा थोपारिएको हो । संविधान सभाले जारी गरेको संविधान प्रस्तावना देखि लिएर धेरै धाराहरू आफैंमा विरोधाभाष पूर्ण छन् । उनले भने, समानुपातिकको चक्करले भविष्यमा कुनै पनि एउटा पार्टीको बहुमत आउन सक्दैन र संधै भरि राजनीतिक अस्थिरता रहिरहनेछ ।”
काँग्रेस नेता घिमिरेले भने–अहिले गाउँपालिका/नगरपालिकाको संख्यात्मक र सिमानाका विवाद त यो प्रारंभ मात्र हो । २०७४ साल माघ ७ गते भित्र स्थानीय तह, प्रान्त र केन्द्रिय तहका चुनावहरू सम्पन्न गरिसक्न असंभवनै देखिन्छ ।
उनले भने–१३८ ओटा कानून वनाउनु पर्नेमा अहिले केवल ७ ओटा मात्र वनेका छन् । प्रमुख ३ दलहरू काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू तीन तिर फर्केको अवस्था छ ।
“दोस्रो संविधानसभाको चुनावले त जातियता र क्षेत्रीयता नारा दिने पार्टीहरूलाई जनताले पाखा नै लगाई दिए । दोस्रो जन आन्दोलन सफल भएको एक दसक भइ सक्दा पनि हामीले एउटा स्थिर शासन व्यवस्था र विधिको शासन दिन सकेका छैनौं । यो संविधान कार्यान्वयन हुने संभावना अत्यन्त नै क्षीण भएर गएको छ” घिमिरेले सुनाए ।
उनले नेपाली काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई बिर्सदै गएको हो की भन्ने भान समेत पर्न थालेकोमा चिन्ता ब्यक्त गरे । नेता घिमिरेले पार्टी भित्र देखिएको गुट उपगुटको राजनितीले नेपाली काँग्रेसलाई कमजोर पार्ने बताउदै पार्टीका नेताहरु अहिलेनै सचेत र सजग हुनु पर्नेकुरामा जोड दिए । अर्का नेता नवराज गुरुङले बिपीको समाजवादी चिन्तनबाट प्रभावित भएर आफु नेपाली काँग्रेसमा प्रवेश गरेको बताउदै भने, जातियताको राप अलापेर मुलुकलाई बिखन्डन तिर लान खोज्नेहरुसँग सावधान हुनु पर्दछ ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एउटा सिंगो इतिहास बोकेको संस्थाका रुपमा एनएडीएफले बनाएको पहिचानलाई नयाँ कार्यसमितिले थप उजिल्याउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक महेन्द्र लम्साल, शिक्षबिद् केशवभक्त सापकोटा, संस्थापक छिरिङ शेर्पा र पत्रकार मनऋषि धितालले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा एनएडीएफका पूर्व अध्यक्ष बालचन्द्र भट्टराइले नवनिर्वाचित अध्यक्ष बिवेक थापालाई माइन्युट पुस्तिका हस्तान्तरण गर्दै कार्यभार सुम्पेका थिए । एनएडीएफका महासचिव ज्ञानेन्द्र रेग्मीले संगठनको पछिल्ला गतिविधि र कोषाध्यक्ष डिला खरेलले आय ब्ययको बिवरण पेश गरेका थिए ।
जन सम्पर्कसमितिका अध्यक्ष कृष्ण गिरीले नयाँ कार्यसमितिलाई बधाइदिदै प्रजातन्त्रको मूल्य र मान्यता भित्ररही अगाडि बढ्न आग्रह गरे । कर्यक्रममा निर्वाचन समितिका तर्फवाट दिनेशराज जोशीले पुरानो कार्यसमितिलाई धन्यबाद र नयाँलाई बधाइ दिए भने छबी सापकोटाले सबै आगन्तुकलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सीड्नीका बिभिन्न संघ संगठनकातर्फवाट रमेश पाण्डे, बिनोद पौडेल, बुद्धी डल्लाकोटी, कोमल पाठकलगायतले नयाँ कार्यसमितिलाई बधाइ ज्ञापन गरेका थिए । बिवेक थापा अध्यक्ष चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा तथा महासचिबमा माधब गैरै र सचिबमा थानु शाक्य, कोषाध्यक्षमा सत्यप्रकाश कंडेल निर्विरोध बिजयी भएका थिए ।
प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार ०७:५३