अस्ट्रेलिया, १० असोज । माछापुच्छ्रे क्लबले यही आउँदो नोभेम्बर महिनामा सीड्नीमा सर्वाधिक धनरासीको जी फाइभ नाइन ए साइड एमएफसी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सीड्नीको अर्वनमा पत्रकार सम्मेलनका आयोजना गर्दै क्लबले ब्यवस्थित फुटबलको सोचका साथ न्यू साउथवेल्स फुटबल संघको आधिकारीक मैदानका रुपमा रहेको भ्यालेन्टाइन फुटबल पार्कमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
क्लबका अध्यक्ष विजेन बटाजुले सामाजिक कार्यका साथै फुटबलमा लागेको माछापुच्छ्रे क्लबले यस पटक करिब चार हजार डलर पुरस्कार सहित यस पटक स्तरीय फुटबलको आयोजना गर्न लागेको बताए ।
दुर्इ दिने प्रतियोगितामा अस्ट्रेलियाका १६ नेपाली टोलीका सहभागिता रहने बटाजुले बताए । प्रतियोगिताको पहिलो हुने टिमले दुर्इ हजार डलर दोस्रो हुनेले आठ सय र तेस्रो स्थान प्राप्त गर्नेले चार सय डलर हात पार्ने क्लबका अध्यक्ष बटाजुले जानकारी दिए ।
बटाजुले फुटबलको आधिकारीक निकायभित्र खेल खेल्दै गर्दा नेपाली फुटबलरहरुले समेत त्यसमाबाट फाइदा लिन सक्ने जिकिर गरे । दुर्इ समूह अर्थात खुल्ला र ३५ बर्ष माथि गरी प्रतियोगिताको बिभाजन गरिएको र ३५ माथिको लागि पनि पुरस्कार रकम राखिएको छ ।
यस बाहेक प्रतियोगिताका बेस्ट प्लेयर, म्यान अफ दी म्याच,वेस्ट गालेकिपर र सर्वाधिक गोलकर्ताको लागि ट्रफी तथा पुरस्कार रहेको क्लबका महासचिव रोहित थकालीले बताए ।
प्रतियोगिताको लिग चरणका खेलहरु दश दश मिनेट गरी कुल २० मिनेटको र क्वार्टरफाइनल देखिका नकआउट खेलहरु पन्ध्र पन्ध्र मिनेट गरी तीस मिनेटको हुने महासचिव थकालीले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष बटाजुले प्रतियोगिताबाट बचेको रकम पोखराको सहारा क्लबलाई प्रदान गरिने बताए । यसअघिपनि क्लबले बिभिन्न च्यारीटी मार्फत सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको क्लबका पूर्व अध्यक्ष निरज श्रेष्ठले बताए । उनले मुलुकमा आएको बिनासकारी भुकम्प र बाढिका बेलामा क्लबले उल्लेखनिय सहयोग गरेको बताए । उनले त्यसबेलामा क्लबले करिब ३० लाख रुपैयाँको सहयोग गरेको सुनाए ।
सीड्नीमा रहेको माछापुच्छ्रे्र क्लबले छोटो समयमा पनि थुप्रै सरानिय कार्य गर्दै आफ्नो लोकप्रियता कमाउन सफल भएको छ । क्लबले छोटो समयमा पनि सीड्नीको बिभिन्न फुटबल प्रतियोगिताको उपाधि समेत हात पारेर फुटबलमा अलग पहिचान बनाउन सफल भएको छ ।
कार्यक्रममा प्रायोजकको तर्फवाट जी फाइभ ग्रुपकातर्बाट कृतु केसीले फुटबलको लोकप्रियता र युवा वर्गको आकर्षण अनि भाइचाराको सम्वन्धबृद्धिका लागि सहयोग गरेको बताए । ग्यालेक्सी एजुकेशन, बिज एजुकेशन, नेपकम, सीडनी एक्सप्रेस, ग्लोब्यान्सी एजुकेशन मिलेर बनेको समूह जी फाइभले प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको हो ।
कार्यक्रममा जी फाइभका राजमान थकाली, एनआरएनका खेलकुद संयोजक नन्द गुरुङ, अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।
प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार १७:२४