अस्ट्रेलिया, ९ असोज । १६ बर्षे नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पहिलो पटक सीड्नीको प्रीमियर डिभिजन क्रिकेटमा शनिबार किफायती बलीङ गर्दै एक विकेट हात पारेका छन् । शनिबार सीड्नीको एलन बोर्डर ओभलमा मोसमनविरुद्ध उनको टोली वेस्टर्न सर्वब क्रिकेट क्लबले ६ विकेटको सहज जीत हात पारेको छ ।
सन्दिपले पहिलो खेलमा आठ ओभर बलीङ गर्दै २७ रन खर्चेर एक विकेट हातपारेका थिए । माइकल क्लार्कको क्लबका रुपमा परिचित एक सय २१ बर्ष पुरानो वेस्टर्न सर्वब क्रिकेट क्लबवाट नेपाली क्रिकेट खेलाडीले खेल्न पाउनु यँहा निकै चर्चाको बिषय बनेको छ ।
सन्दिपले आफु पहिलो खेलका लागि निकै मिहिनेत गरेको बताए । केही डर, केही जोश र नयाँ जागर बोकेर मैदानमा आफु उत्रेको सुनाए । पहिलो कुरा भनेको टिमको जित हो, त्यो पुरा भएको छ । टिमको जितका लागि आफु शतप्रतिशत दिने र त्यसका लागि पहिलो प्रयास हुने उनको कथन थियो । लेग ब्रेक बलरका रुपमा सन्दिपलाई माइकल क्लार्कले रुचाएपछि सन्दिप यतिखेर अस्ट्रेलियन प्रीमियम लिगमा खेल्ने भएका हुन् ।
यी १६ बर्षे लेग स्पीनरलार्इ केही महिनाअघि हङकङमा ट्वान्टी ट्वान्टी क्रिकेट खेल्दा पूर्व अस्ट्रेलियन कप्तान क्लार्कले उनको बलिङ मन पराएपछि अस्ट्रेलिया बोलाएका थिए । उनले क्लबका तर्फवाट अभ्यास पनि गरेका छन् । क्लबका प्रशिक्षक तथा पुराना खेलाडी मार्क रेले उनको खेललाई नजिकवाट नियालेपछि पहिलो खेलमा मैदानमा उतारने निर्णय लिएका थिए ।
क्लार्कले सन्दिप प्रतिभाशाली क्रिकेटर भएको र उसले प्राप्त मौकाको सदुपयोग गर्ने बिश्वास ब्यक्त गरेका छन। सन्दिपको पहिलो खेलवाट आफु प्रभावित भएको क्लार्कले बताए । पहिलो ब्याटिड गरेको ब्रेट ली को टिम मोसमनले ४६.४ ओभरमा सबै विकेट गुमाउदा १ लय ४१ रन जोडेको थियो । वेस्टर्नले भने क्लार्कको अविजीत ९९ रन सहित ३८ ओभरमा चार विकेटको नोक्सानीमा लक्ष हात पारेको थियो ।
प्रकाशित मिति: ९ आश्विन २०७३, आईतवार ०८:०४