महेन्द्रनगर (धनुषा), ८ असोज । धनुषाको बनिनियाँस्थित राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र हर्दिनाथमा लगाइएको नयाँ जातको धानबालीको राष्ट्रिय अनुसन्धान परिषद्ले निरीक्षण गरेको छ ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथमा लगाइएको चैते– ५, डीआर– ४४, तेहरान लगायतका जातको धानबालीको निरीक्षण गरिएको हो । राष्ट्रिय धानबाली अनुसन्धान परिषद्का बाली तथा बागवानी अनुसन्धान निर्देशक डा यज्ञप्रसाद गिरीको संयोजकत्वमा आएको ५ सदस्यीय निरीक्षण टोलीले हर्दिनाथस्थित खेतमै निरीक्षण गरेको छ ।
चैते– ५, डीआर– ४४, तेहरान जातको धानबाली यसवर्ष सार्वजनिक गर्ने तयारी रहेको निर्देशक डा गिरीले बताए । चैते– ५, डीआर– ४४, तेहरान जातको धानको बिरुवा, बाला, दानाको समेत टोलीले निरीक्षण गरेको छ ।
दर्ताको क्रममा रहेका ती जातका धानबाली आउँदो वर्षदेखि किसानका लागि उपलब्ध हुने भएको छ । निरीक्षण टोलीले प्रतिवेदन बुझाएपछि तीनै जातको धान सार्वजनिक गर्ने राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक डा वेदानन्द चौधरीले बताए ।
चैते– ५, डीआर– ४४, तेहरान जातको धानको दाना पातलो र भात पनि राम्रो हुने गरेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका वरिष्ठ वैज्ञानिक डा रामवरण यादवले बताए ।
चैते– ५, डीआर– ४४, तेहरान जातको धानबारे यादवले निरीक्षण टोलीलाई जानकारी गराएका छन् । टोलीले धनुषाको औरहा पर्वतास्थित एक किसानको खेतमा समेत गएर धानको निरीक्षण गरेको छ ।
आइआरआरआइका नेपाल प्रमुख डा भवप्रसाद त्रिपाठी, बीउविजन गुणस्तरका प्रमुख धर्मदत्त बरालसहितको टोलीलाई राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका धान संयोजक चौधरी, वरिष्ठ वैज्ञानिक डा यादव, प्राविधिक अधिकृत परमानन्द शर्मालगायतले समन्वय गरेका थिए ।
बिहीबार धनुषा आएको टोलीले तीनदिने निरीक्षणको क्रममा धनुषाको हर्दिनाथ बनिनियाँ, सिरहाको लहान गएर धानबालीको निरीक्षण गर्नुको साथै टोली शनिबार सिन्धुली जिल्लाको धानबालीको निरीक्षण गर्दै काठमाडाैँ फर्किने राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले जनाएकोछ । रासस