मेलम्ची (सिन्धुपाल्चोक), ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धारित समयअघि नै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको शुक्रबार निरीक्षण भ्रमणका क्रममा आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी गराउँदै । तस्बिरः आदित्य दाहाल, मेलम्ची (सिन्धुपाल्चोक), रासस
सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनपछि आज आयोजित कार्यक्रममा उनले निर्धारित समयअघि नै गुणस्तरीय तरिकाले आगामी वैशाख १ गते काठमाडौँमा खानेपानी पुर्याउनु जरुरी छ भने । उनले स्थानीयवासीले माग गरेभन्दा पनि बढी खानेपानीको रोयल्टी दिइने आश्वासन दिए ।
उनले राष्ट्रिय आयोजनामध्ये सो आयोजनाको काम अन्यका तुलनामा सन्तोष गर्ने ठाउँ रहेको बताउँदै प्रधानमन्त्री दाहालले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गसम्म पुग्ने सडकखण्ड निर्माणका लागि सडक विभागसँग सहमति भएको र व्यावहारिक रुपमा त्यसलाई अगाडि बढाउन निर्देशन दिए ।कार्यक्रममा सांसद अग्निप्रसाद सापकोटाले आयोजना ढिलाइ स्थानीयवासीको कारणले नभएको उल्लेख गर्दै प्रणाली कायम भएमा काम गर्न सहज हुने बताए । सांसद शेरबहादुर तामाङले खानेपानी पठाएबापतको रोयल्टीप्रति प्रतियुनिट रु पाँच हुनुपर्ने र सुरुङको मुख्य केन्द्रसम्म पुग्ने सडकको कालोपत्रे हुनुपर्ने माग गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त मुख्य सचिव टङ्कमणि शर्माले अर्काे दसैँसम्ममा खानेपानी आयोजनाको काम सम्पन्न हुनुपर्नेमा जोड दिए ।
दैनिक ५१ करोड लि खानेपानी राजधानी भित्र्याउने लक्ष्य रहेको सो आयोजनाको अझै सात किमी सुरुङ निर्माणको काम बाँकी छ । अहिलेसम्म आयोजनाको २०.९७ किमी सुरुङको काम सम्पन्न भएको छ । रु २३ अर्ब ४५ करोड ८६ लाख लागतमा आव ०५५/०५६ सालदेखि सुरु भएको आयोजनाको काम आगामी आव ०७४/०७५ मा सम्पन्न गर्ने लक्ष्य छ ।
सो अवसरमा आयोजनाका बारेमा कार्यकारी निर्देशक घनश्याम भट्टराईले प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए। रासस