बागलुङ, ७ असोज । बागलुङदेखि छिमेकीमुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बससेवा सुरु भएको छ ।
ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलोपटक यात्रु लिएर यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा बससेवा सञ्चालन गरेको हो ।
बागलुङदेखि भारतको नयाँ दिल्लीसम्म सुरु भएको बससेवा । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा बससेवा सञ्चालन गरेको हो । तस्बिरः रामबहादुर थापा, रासस
सेवा आज यहाँ शुभारम्भगर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बागलुङ– नयाँदिल्ली बससेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको बताए ।
उनले सर्वसाधारणप्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रहगर्दै सार्वजनिक यातायात सेवालाई सुधार्न सरकारसँग मिलेर काम गर्न महासङ्घ तयार रहेको धारणा राखे ।
बागलुङ–नयाँदिल्ली बससेवा साताको आइतबार, बुधबार र शुक्रबार सुचारु रहने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुको चाहाना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताए ।
बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरी गेट बरफ खानामा गएर रोकिनेछ । एकहजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु तीन हजार २०० नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँदिल्ली पुग्नेछ । नयाँदिल्लीमा पनि काउन्टर स्थापना गरी बस सेवाको प्रचारप्रसार र व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।
धवलागिरी क्षेत्रबाट रोजगारीको लागि भारतको नयाँदिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेसाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । ‘यहाँबाट नयाँदिल्ली पुग्न धेरै झन्झट बेहोर्र्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, ठाउँ–ठाउँमा गाडी फेरिन गर्नुपर्ने बाध्यता पनि टर्नेछ’ समितिका अध्यक्ष खड्काले भने ।
‘मोर्डन इरा टुर्स एन्ड ट्रार्भल्स’ प्रालिका अध्यक्ष केशव अधिकारीले यात्रुको पूर्ण सुरक्षाको ‘ग्यारेन्टी’ गरिएको बताए । प्रालिले दस वर्ष अघिदेखि पोखरा– नयाँदिल्ली बससेवा सञ्चालन गर्दै आएको छ ।
“पोखरादेखि सेवा दिँदा अधिकांश यात्रु धवलागिरी क्षेत्रकै भएको पायौँं’ अध्यक्ष अधिकारीले भने ‘धवलागिरीका सर्वसाधारणको सेवाका लागि बागलुङबाटै बससेवा सुरु गर्न सहकार्य गरेका हौंँ ।”
उनले मुस्ताङमापर्ने पवित्र धार्मिकस्थल मुक्तिनाथ जाने भारतीय तीर्थयात्री र पर्यटकका लागि पनि बस सेवाले लाभ पुग्ने बताए । यात्रुको चाप अनुसार सेवालाई विस्तार गर्दै दैनिक रुपमा समेत बससेवा चलाउन सकिने समितिले जनाएको छ ।
निकट भविष्यमा भारतको सिलुगुढी, गुवाहटीमा पनि बससेवा सुचारु गर्ने योजना समितिसँग छ । रासस