काठमाडौँ, २४ भदौ । नेपाल तरुण दल केन्द्रीय समितिका केहि सदस्यले दश वर्षपछि हुन लागेको चांैथो महाधिवेशनमा कुनै जिल्लालाई वञ्चित गर्न नहुने बताएका छन् ।
केहि केन्द्रीय सदस्यले यहाँ आज पत्रकार सम्मेलन गर्दै यदि कुनै जिल्लालाई वञ्चित गर्ने प्रयास गरे महाधिवेशन नै बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
अझैपनि १९ जिल्लाको विवाद मिलेको छैन्, यस्तो अवस्थामा नेतृत्वले महाधिवेशन गराउन लागिएकोमा उनीहरुले आपत्ति जनाए ।
अहिले पनि बझाङ, रुकुम, बाँके, धादिङ, भक्तपुर, उदयपुर, सप्तरी, धनुषा, रौतहट, रुपन्देही, गोरखामा अधिवेशन हुनसकेको छैन भने नुवाकोट, कपिलवस्तु, मुस्ताङ, काभ्रे, सुर्खेत, महोत्तरी, बारा र पर्सामा अधिवेशन रोकिएको दावी उनीहरुको छ । महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म गर्ने समय तोकिएको छ ।
केन्द्रीय सदस्य रमेश खरेलले अहिलेसम्म अधिवेशन भएका जिल्लाको मतदाता नामावली पनि आफुहरुलाई नदेखाइएको र कतिपय जिल्लाको नामावली अन्तिम टुङ्गो नगरिकन आफूहरुसँग छलफल नै नगरी एक पक्षीय ढङ्गले अघि बढेकाले आफूहरुलाई मान्य नहुने बताए ।
उनले भने ,‘‘तत्काल ती जिल्लामा अधिवेशन गरी महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरी चौथो महाधिवेशनको मिति र स्थान तय गर्नुपर्छ ।’’
अर्का केन्द्रीय सदस्य लक्ष्मी सिटौलाले सिङ्गो मधेसलाई वाइपास गरी महाधिवेशन गरे आफूहरुलाई स्वीकार्य नहुने र देशभर समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य मोहन सिटौला, आकाश श्रेष्ठलगायतले मुलुक सङ्घीय संरचनामा गइसकेकाले तरुण दलले पनि सङ्घीय संरचना अनुरुपको विधान निमार्ण गरेर मात्र महाधिवेशन गर्नुपर्नेमा जोड दिए। रासस