पर्वत २४ भदौ । बुधबार दिउँसोदेखिको अविरल वर्षाका कारण पातीखोलामा आएको बाढीले घर बगाएर विस्थापित बनेका देउपुर गाविस वडा नं ९ का परिवारलाई घटनास्थलमै पुगेर राहत वितरण गरिएको छ । बाढीले घर बगाएका तीन घर परिवार र जोखिममा परेका अन्य तीन परिवारलाई बिहिबार राहत वितरण गरिएको हो ।
घर नै बगाएर पूर्णरुपमा विस्थापित बनेका घरपरिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समिति पर्वत र नेपाल रेडक्रस सोसाइटी पर्वतले राहत प्रदान गरेका छन् । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी घटनास्थलमा नै पुगेर पीडितपरिवारलाई तत्कालका लागि राहत रु पाँच हजारका दरले नगद र नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाले त्रिपाल, कम्बल र अन्य दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको अनुसन्धान अधिकृत विष्णुहरि पण्डितले जानकारी दिए ।
त्यसैगरी, बाढीका कारण स्थानीयवासीका पशुचौपायामा पनि क्षति पुगेको, विद्युत् पोलमा क्षति पुगेको, खानेपानीको पाइप बगाएको र खेतीयोग्य जमिन कटान गरेकाले सम्बन्धित कार्यालयलाई तत्काल आवश्यक पहल गर्न प्रजिअ मरासिनीले पत्राचार गरिसकेकाे अनुसन्धान अधिकृत पण्डितले जानकारी दिए ।
बाढीका कारण पातीचौर बजारमा विस्तार भएको खानेपानी लाइनमा समेत क्षति पुगेको छ । पहिरोले पातीखोलाबाट सदरमुकाम कुश्माबजारमा आएको खानेपानीको पाइपमा समेत क्षति पुगेको बताइएको छ । बाढीले पातीखोला जलविद्युत् आयोजनाका २९ वटा विद्युत् पोलसमेत ढलेका कारण विद्युत् उत्पादन बन्द भएको छ भने पावर हाउसमा हिलो पसेको छ ।
त्यसैगरी, बाढीले माछा फर्म र पातीखोला जलविद्युत् केन्द्रमा समेत क्षति पु¥याएको छ । प्रेमप्रसाद चापागाईं, यामबहादुर चोचाङ्गी र कालु बिकको परिवार अहिले त्रिपालमुनि रात काट्न बाध्य भएका छन् भने जोखिममा रहेका सुन्दर विक, अन्तरे विक, र बाजुङ–१ का मनबहादुर पौडेलको परिवार घर छाडेर आफन्तकोमा आश्रय लिएर बसेका प्रहरीले जनाएको छ ।
त्यस्तै, स्थानीयवासी यामबहादुर चोचाङ्गीको धौलागिरि साबुन फ्याक्ट्रीमा बाढीले क्षति पु¥याउँदा लाखौँको धनमाल बगाएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले करोडौँको लगानीमा सञ्चालन गरेको जिल्लाकै एक मात्र पातीखोला रेन्बो ट्राउट फार्ममा समेत ठूलो क्षति पुगेको छ भने स्थानीयवासी पार्वती आमा समूहको माछा फार्म र भवनसमेत बगाएको छ । रासस