काठमाडौं, २३ भदौ । प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधानलाई संविधानसभाबाट रुपान्तरित भएको संसदले कार्यान्ववयन गर्न नसकेमा लोकतन्त्र नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । समग्र राष्ट्रिय एकताका लागि सबै एकमत हुनु पर्नेमा आ–आफ्ना स्वार्थमा लाग्दा लोकतन्त्र नै खतरामा पर्ने उनले चिन्ता व्यक्त गरेका हुन् ।
स्वास्थ्य उपचारका लागि अमेरिका जाने तयारीमा रहेका नेपालका प्रथम राष्ट्रपति यादवले आफ्नो स्वास्थ्य निको भए देशका लागि अझै काम गर्ने अवसर पाउने आशा पनि व्यक्त गरे । उनले भने, ‘मेरो स्वास्थ्य ठीक भए अझै १०/१५ वर्ष राष्ट्रका लागि केही योगदान दिने समय पाउने थिए ।’
संविधान जारी भएको एकवर्ष पुग्न लागेको अवसरमा खबरइरा अनलाइन नेपाली पेपरको टोलीसँग कुरा गर्दै प्रथम राष्ट्रपति यादवले अब २०७४ माघ ७ सम्ममा संविधानलाई कार्यान्वयन गर्नका लागि मुख्य गरी कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेशी दलहरु एकै ठाँउमा उभिएर संविधानको कार्यान्वयनमा दृढ भएर उभिनुपर्ने बताए । उनले भने, ‘मुख्यगरी मुलुकका ४ शक्ति कांग्रेस, एमाले, माओवादी र मधेशी दलहरु एकै ठाँउमा उभिएर मुलुकलाई अगाडि लैजानुको विकल्प छैन् ।’
जातीय, क्षेत्रीय कुराहरु विश्वमा जहाँसुकै उठेको बताउदै प्रथम राष्ट्रपति यादवले भने, ‘यो विषयलाई व्यवस्थापन गर्नु महत्वपूर्ण हो ।’ एकै ठाँउमा बसेर यसको उचित व्यवस्थापन डेढ वर्षमा गर्नु समेत उनले चार शक्तिलाई सुझाव दिए ।
प्रथम राष्ट्रपति यादवले भने, ‘चार शक्तिले आ–आफ्ना स्वार्थ छोडेर एकै ठाँउमा उभिएमा यही संविधान र यही रुपान्तरित संसदले समस्याको समाधान निकाल्छ । तर त्यसका लागि मुख्यगरी वर्तमान संसदमा भएका चार शक्तिले आ–आफ्नो स्वार्थ छोड्न आवश्यक छ ।’ उनले राजनीतिक दलले हिडेन् एजेण्डा छोडे मात्र लोकतन्त्र सफल हुन सक्ने बताए ।
प्रथम राष्ट्रपति डा.यादवले भने, ‘अहिलेको मुख्य एजेण्डा भनेको गणतन्त्र धर्म निरपेक्षता, र संघीयताको संस्थागत विकास गर्दै संविधान कार्यान्वयन गराउनु हो । तर राजनीतिक दलहरु यी एजेण्डालाई छोडेर हिडेन् एजेण्डामा केन्द्रीत भए भने लोकतन्त्रको भविश्य के हुन्छ थाहा छैन् ।’
सवैभन्दा मुलुकका लागि खतरा भनेको क्षेत्रीयताको राजनीति भएको डा यादवको भनाई थियो । क्षेत्रीय राजनीति गर्नेहरुको निसान कहि कतै भएको बताउदैँ परिस्थितिलाई जटिल बनाउका लागि देशको कुनै भाग अखण्ड कुनै भागलाई खण्ड खण्ड बनाउने प्रयास भएको समेत उनले गुनासो गरे ।
वर्तमान संविधान जारी गरेका प्रथम राष्ट्रपति यादवले कुनै आयोग, कुनै मस्यौदाकार मार्फत नभई उम्दा संविधानसभा मार्फत वर्तमान संविधान बनेकाले यो संविधान कार्यान्वयनमा आओस् भन्ने आफ्नो इच्छा रहेको बताउँदै यो संविधानको कार्यान्वयन पनि वर्तमान संविधानसभाबाट रुपान्तरित भएको संसदले तोकिएकै मितिमा गरोस् भन्ने इच्छा प्रकट गरे ।
प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालको समृद्धि नेपालको सार्वभौकिता बचाउनका लागि पनि अहिलेका चार राजनीतिक शक्तिका बीचमा एकता आवश्यक रहेको स्पष्ट पारे । उनले नेपाली जनताको चाहना पनि मुख्य राजनीतिक दलहरुका बीचमा एकता होस भन्ने रहेको बताए ।
प्रथम राष्ट्रपति यादवले दक्षिण एसियाका धेरै मुलुकले दिगो संविधान बनाएर एउटा बाटो तय गरेर आर्थिक समृद्धिको बाटोमा हिडेको भन्दै नेपालले दिगो संविधान र राजनीतिक स्थिरता दिन नसक्दा बाटो बिराएको निष्कर्ष सुनाए । उनले भने, ‘दक्षिण एशियामा नै कति मुलुक समृद्धिको बाटोमा गएका छन् । तर हामीले बाटो बिराउदा कस्तो अवस्थामा छौ । अब फेरि हामीले संविधान कार्यान्यवनमा आपसी झगडा गरेर बाटो बिराउनुहुँदैन ।’
संविधानसभाबाट संविधान जारी भएको एकवर्ष पुग्न लाग्दा समेत संविधान कार्यान्वयनका बाटोमा प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रथम राष्ट्रपति यादवले भने, ‘अब नेपाललाई कुनै तानाशाही बाटोमा जानु छैन, अब समृद्धि र राजनीति स्थिरताको बाटोमा नेपाललाई लैजानुपर्छ । यसका लागि मुख्य राजनीतिक दलहरुका बीचमा सहकार्य आवश्यक छ ।’
डा यादवले मुख्य राजनीतिक दलहरुका बीचमा सहकार्य भएकाले नै संविधानसभा संविधान जारी गर्नका लागि सफल भएको स्मरण गर्दै भने, ‘संविधान जारी गर्ने बेलामा केही समय पर्खेर असंतुष्टी सम्बोधन गर्न सकेको भए उत्तम हुन्थ्यो, त्यो बेलामा मैले पनि केही समय पर्खेर असंतुष्टी सम्बोधन गरौ भनेको हो । तर सकिएन । अहिले पनि त्यही संविधान बनाउन आएका प्रतिनिधिहरुको सभा संसदमा रुपान्तरित भएको छ । यसले सम्बोधन गर्दा हुन्छ ।’
अहिले राष्ट्रको मुख्य समस्या भनेको यो डेढ वर्षमा संविधानको पूर्ण कार्यान्वयन गर्दै परिवर्तनलाई संस्थागत गर्नुभएको उनको भनाई थियो । संविधान कार्यान्वयनका लागि राजनीतिक पार्टी, सरकार र वर्तमान संसदलाई सवैले दबाव दिनुपर्ने समेत प्रथम राष्ट्रपति यादवको सुझाव थियो । ‘मुख्य चार शक्तिलाई संविधान कार्यान्वयका लागि एकै ठाँउमा ल्याउन र चार शक्तिले बाँकी सवैलाई समेटेर संविधान कार्यान्वयन गराउनका लागि हामीले सवैले आ–आफ्नो ठाँउबाट दबाब सृजना गर्न आवश्यक छ । यसो भयो भने मात्र लोकतन्त्र बाँच्छ ।’ उनले भने ।
स्थानीय तहको पुनर्संरचना र प्रदेशको सिमाङकनका लागि विज्ञहरुको टिम बनाएर अगाडि बढ्का लागि प्रथम राष्ट्रपतिको सुझाव थियो । उनले स्थानीय तहको संरचना बनाउदा अधिकारीको दुरुपयोग हुने, आर्थिक हिसाबले कमजोर हुने र जनता अधिकारबाट बञ्चित हुने गरी बनाउन नहुने सुझाव दिए ।
प्रोटेष्ट ग्रन्थीको उपचारका लागि आउदो असोज १ गते अमेरिका जान लागेको प्रथम राष्ट्रपति यादवले आफ्नो बाँकी जीवन पनि राष्ट्रको सेवामा लगाउने बताए । उनले जीवन भर राष्ट्रिय एकता र साम्प्रदायिक एकताको अभियानमा लाग्ने बताए ।
प्रथम राष्ट्रपति यादवले आफुले शिक्षा स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा केही काम गर्ने योजना रहेको समेत बताए । स्वास्थ्य र शिक्षामा राज्यले कुनै बिशिष्ट नागरिकको जतिकै सेवा सुविधा आम नागरिकले पनि पाउनुपर्ने आफ्नो मान्यता रहेको बताउदै डा यादवले उपचारका लागि राज्यकोषको खर्च हुँदा आम नागरिकले गरेको आलोचना स्वभाविक भएको भन्दै सवैलाई बाँच्ने रहर हुने भएकाले आफुले सुरक्षित शल्यक्रियाको खोजी गरेको बताए । उनले भने, ‘राज्यकोषको पैसाबाट उपचार बिदेशमा गरेको भनि भएको आलोचना मेरालागि आर्शिवाद हो । राज्यले मेरो उपचारका लागि सहयोग गर्यो म सधै आभारी छु । आफुले नेपाल र नेपालीलाई यसको समेत गुन तिर्नका लागि उपचारपछि फर्केर केही काम गर्ने इच्छा छ ।’
प्रकाशित मिति: २३ भाद्र २०७३, बिहीबार १४:४१