काठमाडौं, २१ भदौं । दशैका लागि उपत्यकामा करिब ५० हजार खसीबोकारच्यांग्रा भित्र्याइने भएको छ । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त परिमाणमा खसीबोका ल्याउने तयारी थालेका हुन् । दसैंमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् ।
‘दसैंका लागि खसीबोका र च्यांग्रा गरी ३ हजार भित्र्याउने तयारी छ,’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो ।’ खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्रचार गरिसकेको छ । संस्थानले अञ्चल कार्यालय नेपालगन्ज, दाङ, वीरगन्ज कार्यालयमा पत्राचार गरेको छ ।
संस्थानले पठाएको पत्रमा स्थानीय बजार मूल्य, रोगव्याधि, ढुवानी व्यवस्थालगायत खरिद प्रक्रिया व्यवस्थापन गर्न भनेको छ । ‘चाडपर्वमा खरिद प्रक्रिया ढिलो नहोस् भनेर सम्बन्धित कार्यालयमा पत्रचार गरिसकेका छौं,’ श्रेष्ठले भने ।
संस्थानले नेपालगन्जबाट १ सय ५०, दाङबाट २ सय, वीरगन्जबाट ५ सय ५० र बाँकी अन्य जिल्लाबाट खरिद गर्ने योजना बनाएको छ ।
मुस्ताङबाट कम्तीमा १५ सय च्यांग्रा खरिद गरिने संस्थानले जनाएको छ । उपत्यका भित्रिएको उक्त खसीबोका सुलभ मूल्यमा बिक्री गरिने संस्थानका प्रवक्ता पवन कार्कीले बताए । कान्तिपुरमा खबर छ ।
‘दसैंमा खसीबोकाको माग हवात्तै बढ्छ । सोहीअनुसार व्यापारीले पनि मनोमानी रूपमा मूल्य असुल्छन्,’ उनले भने, ‘संस्थानले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा किलोमा १० देखि १५ रुपैयाँ सस्तोमा बिक्री गर्छ ।’ गत वर्ष भने संस्थानले २५ सय खसीबोकारच्यांग्रा ल्याउने बताए पनि इन्धनलगायत समस्याले ११ सय ३६ वटा मात्रै ल्याएको थियो ।
संस्थानले खसीबोका खरिद गर्न जिल्ला प्रमुख अधिकारीको संयोजकत्वमा खरिद समिति गठन गरेको छ ।
चौपाया व्यवसायी संघले भने मुख्यतया आयातित खसिबोका बिक्री गर्छन् । भारतको लखनउ, कर्नाटकलगायत १० स्थानबाट आयात हुन्छ ।
संघका अध्यक्ष दीपक थापाले उपत्यकाको माग धान्न भारतबाट आयात गर्दै आएको बताए । ‘स्वदेशी मागले धान्न सक्दैन,’ उनले भने, ‘माग धान्न भारतमै निर्भर हुनुपर्छ ।’ उनका अनुसार यसपालिको दसैंमा ४५ हजारभन्दा बढी खसीबोका ल्याइने छ ।
प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलवार ०७:३६