काठमाडौ २५ साउन । पंचायतको जगजगी भएको बेलामा नेपाल बिद्यार्थी संघ प्रजातन्त्र स्थापनकालागि गठन भएको हो । त्यसबखतमा प्रजातन्त्रको हत्या भएको थियो । राजनीतिक दलहरुका साथै विद्यार्थी संगठनहरु पनि २०१७ सालपछि प्रतिबन्धीत थिए । त्यसबीचमा पंचायतको संरचनामा रहेका विभिन्न वर्गिय संगठन थिए । यस्तै वर्गिय संगठनका रुपमा नेपाल विद्यार्थी संगठन भन्ने संगठन थियो । पञ्चायत विरुद्ध हामीले हाइस्कूल तहमै पढ्दै देखि आन्दोलन सुरु गर्यौँ । म पद्मोदय हाईस्कूलको विद्यार्थी युनियनको सभापति थिए । त्यहाँ हामीले हड्ताल, जुलुश ग¥यौ । त्यो बेलामा विश्वविद्यालयका साथीहरु मौन थिए । बिद्रोह गर्ने हिम्मत गर्न सकेका थिएनन् । त्यही पृष्ठभूमिमा हामीले विद्यार्थी हकहितको आवरणमा प्रजातन्त्रकालागि लड्नु थियो । नेपाली कांग्रेसका नेताहरु केही बन्दी हुनुहुन्थ्यो, केही भारत निर्वासनमा त कोही भुमिगत थिए । त्यस्तो अवस्थामा नेपाली कांग्रेसको राजनीतिक उपस्थीति नहुँदाखेरि हामी युवा विद्यार्थीहरुले प्रजातान्त्रको पक्षमा आन्दोलनलाई निरन्तर १० बर्ष सम्म गरिरह्यौँ । २०२६ सालमा त्रिभूवन विश्व विद्यालयमा प्रजातान्त्रिक पक्षले जितेपछि देशव्यापी सम्मेलनको आयोजना गरेका थियौँ ।
प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गर्न २०२७ साल वैशाख ६ गते नेविसंघको स्थापना भयो । नेताहरु जेलमा भएका बेला गठन भएको हो । त्यो बेलाको परिस्थीति कस्तो छ भने नेबिसंघ स्थापना हुँदा त्यस बखतमा नेताहरु थिएनन, बन्दी थिए या निर्वासनमा बाहिर थिए । हामी त्यतिबेला पहिला नेपाली कांग्रेसमा लागेर नेसिंघको स्थापना गरेका थियौँ । अहिले नेविसंघ भएपछि कांग्रेस हुन्छन् । प्रजातन्त्र स्थापनका दौरान प्रहरीलाई छल्दै, धरपकडमा परिन्छ कि भनेर अर्धभूमिगत जस्तो रुपमा हामीले नेपाल बिद्यार्थी संघको सम्मेलन गर्नुपरेको थियो । तर अहिलेको महाधिबेशनमा हाम्रै सुरक्षार्थ प्रशस्त प्रहरीहरु परिचालन गरिएको छ । अर्को हामी पहाडबाट पढ्न आएका मानिसहरु जो आफ्नै खर्चमा नेविसंघको स्थापना गरेका थियौं । आन्दोलनहरु पनि गरेका थियौं । २०२७ साल वैशाख ९ गते त्रिभूवन विश्व विद्यालयको पहिलो महाधिवेशन गर्दा जम्मा २ सय रुपैयाँ खर्च गरेका थियौँ ।
अघिवेशन सम्पन्न गरेपछि त्यतिबेला उप–सभापति जितेका मच्छिन्द्रनाथ पाठकको डेरा ‘पकनाजोल’मा गएर चिउरा प्याज र नुन खाएर सुत्यौँ । अब अहिले एकदमै तड्क,भडक, खर्चिलो गर्ने नेविसंघ भएको छ । नेपाली कांग्रेसको पनि अधिबेशन फागुनमा त्यस्तै तामझामका साथ भयो । पहिला हामीले आर्थिक अनुशासन भित्र रहेर महाधिबेशन गरेका थियौं । तर अहिले अधिवेशन ताम झाम बढी छ ।
अर्को माउ पार्टीको हस्तक्षेप त्यतिबेला नेविसंघका माउ पार्टीका नेताहरुको कुनैपनि हस्तक्षेप थिएन । किन भने त्यतिबेला हामी आफै सचेत थियौँ । २०१७ सालको अध्यारो दिनमा नेपाली कांग्रेसमा लागेका जमात थियौँ, त्यसैले पार्टीले हस्तक्षेप गर्दैनथ्यो । अहिले नेविसंघलाई स्वस्फूर्त चल्न दिनुको साटो पार्टी नेतृत्वले आफू अनुकुलको नेतृत्व आउँछ की आउँदैन भनेर बढी हस्तक्षेप गरेको देखिन्छ । पहिला कांग्रेस पनि धान्यौँ, विद्यार्थी हक हितकालागि पनि लड्यौँ ।
अब हिजोका जस्तो प्रजातन्त्र जोगाउन नेविसंघ लड्नु पर्दैन् । अब त प्रजातान्त्रिक वातावरण पनि आइसकेको छ । तर पनि प्रजातन्त्र त अझै खतरा पनि छ । हिजो बामपन्थीको सरकार थियो आज फेरि अर्को बामपन्थीको सरकार ढालेर अर्को बामपन्थीको सरकारका बनाइएको छ । नयाँ संविधान कार्यान्वयनको समस्या जस्ताका त्यस्तै छन् । अझै तीन तीन वटा चुनाव गराउन बाँकी छ । अब अहिले प्रजातन्त्रको लडाई लड्नु नपरेपनि जोगाउनुपर्ने जिम्मेवारी त छ ।
त्यतिबेला कलम किताब फालेर प्रजातन्त्रका लागि लडेका थियौँ भने अहिले नेपाल बिद्यार्थी संघले अलिकति ‘एकेडेमीक’ तरिकाले लडाई लड्नुपर्ने बेला आएको छ । अहिलेकै विद्यार्थी नेताहरु भोलीका राजनीतिक दलका नेताहरु मात्र होइनन्, उनिहरु मुलुकका प्रशामक हुन् । डाक्टर इन्जिनियर पनि हुन एक हिसावले भन्नुपर्दा भोलीको मुलुक सम्पुर्ण रुपले चलाउने अहिलेका बिद्यार्थीहरुले हो । त्यसैले यतातर्फ पनि सोँच्ने बेला आएको छ ।
यो सँगसँगै नेपाल बिद्यार्थी संघ नेपाली कांग्रेसको ‘फ्याक्ट्री’ भएकाले अहिलेनै यो गुट त्यो गुट भनेर लाग्नुहुँदैन । २४ घन्टे राजनीतिको काम छैन २४ घन्टे राजनीति गर्नुहुँदैन । त्यतीबेला हाम्रो परिस्थीति नै त्यस्तै थियो । तर अहिले परिस्थीति बदलिएको छ । त्यसैले अब अरु कुराहरुमा पनि नेविसंघले ध्यान दिनुपर्ने हुन्छ । अहिले माउ पार्टीको हस्तक्षेपका कारण अहिले नेविसंघका प्रतिनिधी विवाद देखिएको हो । पार्टीले हस्तक्षेप गर्दा स्वतःस्फूर्तमा रुपमा नेतृव आउन सक्दैन र त्यसले भविष्यमा पनि काम दिँदैन । दुर्भाग्वस अहिले सम्म चार चार वटा महाधिबेशन रोकिए । निर्वाचित कमिटि भंग गर्ने एक दशकसम्म चुनाव नगराउने । एक दशक सम्म अबरुद्ध भएकाले नेतृत्वका आकक्षीहरु बुढा देखिएका हुन् ।
(खिला कार्कीले नेपाल बिद्यार्थी संघको संस्थापक अध्यक्ष विपिन कोइरालासंगै गरेको कुराकानीको आधारित )
प्रकाशित मिति: २५ श्रावण २०७३, मंगलवार ०९:१३