काठमाडौँ, २३ साउन । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौाको भृकुटीमण्डपमा आइतबार आयोजित नेपाल विद्यार्थी सङघको ११औा महाधिवेशनमा अभिवादन गर्दै । तस्बिर : रोशन सापकोटा, रासस
मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घको यो महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा चल्ने छ ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक को एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसङ्घको यस महाधिवेशनमा विद्यार्थी नेता/कार्यकर्ता उत्साहका साथ सहभागी भइरहेका छन् । महाधिवेशनमा मुलुकभरका करिब तीनहजार ४०० प्रतिनिधि सहभागी भएको सङ्घले प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
उद्घाट्न समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव , भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा सङ्घका पूर्व अध्यक्षहरु, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरु शुभकामना दिन सहभागी थिए ।
महाधिवशेनको उद्घाट्न भइसक्दा पनि केही जिल्लामा प्रतिनिधि छनोट विवाद कायमै छ । विवादित ११ जिल्लामध्ये पनि सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ भने सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिलाउने कार्य अन्तिम चरणमा छ ।
पार्टीले निर्धारित समयमै नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न नेता डा प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिमा गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर रहनुभएको छ । समितिले सङ्घको महाधिवेशन गर्न र विवाद मिलाउन हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

लामो समयको अन्तरालपछि हुन लागेको महाधिवेशनमा विभिन्न गुट÷उपगुटबाट नेताहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् ।
अध्यक्षमा हालसम्म जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । अन्य केही नेताहरू उम्मेदवारी घोषणा गर्ने क्रममा छन् ।
निर्वाचनमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्ष समूह बनाएर प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । सङ्घको आगामी केन्द्रीय समिति प्रदेश संरचनासहित एकसय ५१ सदस्यीय हुने गरी विधानको टुङ्गो लगाइएको छ । रासस