काठमाडौ २३ साउन – गत आर्थिक वर्ष २०७२/७३ मा भएको कुल आयातमध्ये ६१ दशमलव ३३ प्रतिशत अर्थात् दुई तिहाइ अंश १० वस्तुको रहेको छ । गत आवमा रू. ७ खर्ब ८१ अर्ब मूल्यबराबरको कुल आयात भएकोमा १० वस्तुको आयातमा मात्र रू. ४ खर्ब ७९ अर्ब खर्च भएको भन्सार विभागको तथ्याङ्क छ । अघिल्लो आवमा भएको कुल आयात रू. ८ खर्ब ५१ करोड ९४ लाखमध्ये उच्च १० वस्तुको आयातमा रू. ५ खर्ब ४ करोड ३७ करोड खर्च भएको थियो ।
गत आवमा आयात भएका १० वस्तुमध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ रहेको छ । गत आवमा पेट्रोलियम पदार्थ र अन्य तेलहरू गरी रू. ८४ अर्ब ३८ करोड मूल्यबराबरको आयात भएको भन्सार विभागले बताएको छ । अघिल्लो आवमा रू. १ खर्ब २६ अर्ब ५० करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । अघिल्लो आवको भन्दा कम पेट्रोलियम पदार्थ तथा अन्य तेलहरू आयात हुनुका कारण ६ महीना लामो सीमानाका बन्द हुनु रहेको बताइएको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
बढी आयात हुने वस्तुहरूमा आइरन एण्ड स्टील, यातायात तथा सम्बद्ध पार्टपुर्जा, विद्युतीय यान्त्रिक उपकरण र तिनका पार्टस्, साउण्ड रेकर्डर्स एण्ड रिप्रोड्यूसर्स, टेलिभिजन, न्यूक्लियर रियाक्टर, मेशिनरी एण्ड मेकानिकल सामग्री, फर्मास्युटिकल उत्पादन, बहुमूल्य धातु तथा पत्थर, जनावर तथा वनस्पतिका घ्यू, तेललगायत वस्तु छन् ।
१० वस्तुबाट ६५ अर्ब ५ करोड राजस्व
गत आर्थिक वर्ष २०७२/७३ मा १० वस्तुबाट कुल भन्सार राजस्वको ३३ दशमलव ३४ प्रतिशत राजस्व सङ्कलन भएको छ । सरकारले गत आवमा कुल रू. १ खर्ब ९५ अर्ब ६ करोड राजस्व सङ्कलन गरेको छ । सो रकममध्ये १० वस्तुबाट मात्र रू. ६५ अर्ब ५ करोड सङ्कलन गरेको भन्सार विभागका प्रवक्ता सूर्य सेढाईंले जानकारी दिए । सङ्कलित राजस्व अघिल्लो आवकोे भन्दा साढे १६ प्रतिशत कम हो । अघिल्लो आवमा कुल रू. १ खर्ब ७६ अर्ब ११ करोड राजस्व सङ्कलन भएको थियो भने १० वस्तुबाट रू. रू. ७७ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।
गत आवमा बढी राजस्व सङ्कलन भएका वस्तुहरूमा मोटरसाइकल तथा यसका रेसिप्रोकल इञ्जिन, यातायातका साधन, बस र ट्रकका चेसिसहरू, डिजेल, पेट्रोल, सिमेण्टको क्लिङ्कर, अर्धप्रशोधित फलाम तथा अल्मुनियम, अन्य यातायातका साधनलगायत रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अघिल्लो आवमा बढी राजस्व प्राप्त हुने वस्तुहरूमा फलाम तथा इस्पात तथा तीबाट बनेका वस्तुहरू, विद्युतीय यान्त्रिक उपकरण र तिनका पार्टस्, साउण्ड रेकर्डर्स र रिप्रोड्यूसर्स, टेलिभिजन, सुन, चाँदी, रबर र तिनबाट बनेका सामान, काठ तथा काठबाट बनेका सामानलगायत वस्तु रहेका थिए ।
प्रकाशित मिति: २३ श्रावण २०७३, आईतवार ०६:५२