काठमाडौ २३ साउन – बुलिश प्रवृत्तिमा हिँडिरहेको नेपालको शेयरबजार अकस्मात् ओरालो लाग्नुमा सरकार परिवर्तनभन्दा नियामक निकाय बढी जिम्मेवार रहेको लगानीकर्ताले बताएका छन् । धितोपत्र बोर्डका जिम्मेवार व्यक्तिले जथाभावी रूपमा बजार घट्छ वा अहिलेको वृद्धि अस्वाभाविक भएको भन्दै मिडियामा दिएको अभिव्यक्ति नै बजार घट्नुको मुख्य कारण भएको शेयर लगानीकर्ता सङ्घका पदाधिकारीहरूले बताएका छन् । दैनिक रूपमा रेकर्ड तोड्दै १ हजार ८ सय माथि पुगेको नेप्से परिसूचक केही दिनदेखि घट्ने क्रममा छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
सङ्घका अनुसार केही दिनअघि मात्र धितोपत्र बोर्डका अध्यक्षले लगानीकर्तालाई शेयर किन्न सचेत हुन आग्रह गरेका थिए । १ हजार ८ सयभन्दा माथि पुगेको परिसूचक ७ सयमा झर्न सक्छ भन्दै लगानीकर्तालाई हतोत्साही बनाएको सङ्घको आरोप छ । सङ्घले काठमाडौंमा शनिवार एक कार्यक्रम गरी सो कुरा बताएको हो ।
‘स्वाभाविक रूपमा बढ्दै गएको शेयरबजारलाई धितोपत्र बोर्डले अङ्कुश लगाउने काम गरेको छ,’ सङ्घ तदर्थ समितिका अध्यक्ष उत्तम अर्यालले भने । उनका अनुसार नेप्से र धितोपत्र बोर्ड नियामक निकाय भएकाले उनीहरूको काम शेयरबजारमा हुने मनपरीतन्त्रलाई रोक्ने हो, लगानीकर्तालाई हतोत्साही गर्ने होइन ।
धितोपत्र बोर्डका जिम्मेवार व्यक्तिबाट यस्तो प्रकारको अभिव्यक्ति आउनुमा आफूहरूलाई शङ्का लागेको समितिको भनाइ छ । ‘धितोपत्र बोर्डलाई हातमा लिएर कतै ठूला लगानीकर्ताले चलखेल गरेका त छैनन्,’ समितिका एक पदाधिकारीले भने । यदि यस्तो हो भने आफूहरू चुप लागेर नबस्ने उनले स्पष्ट पारे । कार्यक्रममा ठूला लगानीकर्ताले चलखेल गरेर शेयर घटाउँदा नियामक निकायले कुनै कारबाही नगरेको उनीहरूको आरोप थियो ।
कार्यक्रममा शेयर ब्रोकर कम्पनीको चुक्तापूँजी बढाउनुपर्ने उनीहरूको भनाइ थियो । कारोबार २ अर्ब नाघिसकेको अवस्थामा ब्रोकर कम्पनीहरूको पनि चुक्तापूँजी बढ्नुपर्ने समितिका अध्यक्ष अर्यालले बताए । हाल ब्रोकर कम्पनीको चुक्तापूँजी २५ लाख रहेको छ ।
समितिले शनिवार बिहान नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरालाई भेट गरेको बताएको छ । भेटमा समितिका पदाधिकारीले अर्थमन्त्रीसमक्ष शेयरबजारमा भएका चलखेललाई रोक्नुपर्ने माग गरेका थिए । अर्थमन्त्रीले आफ्नो पार्टीलाई दोष दिएर कालोबजारीबाट बजार घटाइएकोमा सो कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
शेयर लगानीकर्ता सङ्घ गठन
पूँजी बजारलाई स्वच्छ र स्वस्थ बनाउने उद्देश्यसहित ‘शेयर लगानीकर्ता सङ्घ’ गठन भएको छ । शुक्रवार लगानीकर्ता उत्तम अर्यालको अध्यक्षतामा समिति गठन भएकोे हो । समितिमा ताराप्रसाद फल्लेल उपाध्यक्ष, नवराज सुवेदी महासचिव, कोषाध्यक्षमा मोहनबहादुर बस्नेत, सदस्यमा अमर डङ्गोललगायत ११ जनाको तदर्थ समिति गठन भएको छ ।
प्रकाशित मिति: २३ श्रावण २०७३, आईतवार ०६:५०