काठमाडौँ, २२ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सरकारले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई राहत उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।
रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले मुलुकको पुनःनिर्माण, शान्ति, सुव्यवस्था, सुशासन कायम गर्नेलगायतका राष्ट्रिय एजेण्डाका विषयमा अन्य दलसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लेखकले नयाँ सरकारले छिट्टै पूर्णता पाउने बताउँदै काँग्रेसबाट समेत मन्त्रिमण्डलमा सहभागी हुने प्रतिनिधिको छिट्टै छनोट हुने बताए ।
संविधानको कार्यान्वयनका लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको स्पष्ट पार्दै उनले भने, “स्थानीय तह र निकायको निर्वाचन गर्नुपर्छ, यसका लागि सरकार आवश्यक कानुन निर्माणका लागि अघि बढ्छ, अरु निर्वाचन गर्ने तयारीमा पनि लाग्छौँ ।”
मन्त्री लेखकले काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताउँदै सरकार अहिले तीनबुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढेको र यो ऐतिहासिक कदमले सकारात्मक प्रभाव परेको विचार व्यक्त गरे ।
उनले मन्त्रिपरिषद्को उक्त निर्णयसँगै मधेसी मोर्चा संविधानका विषयमा छलफल गर्न तयार भएको जानकारी दिँदै संविधान कार्यान्वयनका लागि राजनीतिक दलबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेकोमा पनि जोड दिए । रासस