काठमाडौँ, २२ साउन । आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन् गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन एक मात्र योग्य उम्मेदवार भएको वर्तमान राष्ट्रपति बाराक ओबामाले दाबी गरेका छन् । 
अमेरिकाको डेमोक्र्यटिक पार्टीले अगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेपछि ओबामाको यो भनाइ आएको थियो । यस अघि उनलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदवारको रुपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई राष्ट्रपति बाराक ओबामाले पूर्ण समर्थन जनाएका छन् । विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक महिला उम्मेदवार विश्वभर नै नयाँ चर्चाको विषय भएको छ ।
हुन त आगामी राष्ट्रपतीय निर्वाचन प्रतिस्पर्धामा स्थानीय र क्षेत्रियस्तरका धेरै उम्मेदबारले नाम दर्ता गराए पनि क्लिन्टनको निकटतम प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प मात्र देखिएका छन् । हालैका पछिल्ला दिनमा चुनावी प्रचार, प्रसारका क्रममा क्लिन्टन र ट्रम्पकाबीच बाकयुद्ध चलेका छन् । ट्रम्पले राष्ट्रपति ओबामा र क्लिन्टनलाई “राक्षस”को सङ्ज्ञा दिने, मतदान प्रकृयामै धाँधली हुने आशङ्का गर्ने अमेरिकी मुस्लिम सैनिकका सम्बन्धमा अनर्गल टिप्पणी गरेर विवादमा पर्ने जस्ता गतिविधि नियाल्दा र ठाउँठाउँमा गरिएको जनमत सर्वेक्षण एवम् नतिजा पूर्वअनुमान गर्दा उहाँको विजयको सम्भावना अत्यन्तै क्षीण भइसकेको प्रतीत हुन्छ ।
अमेरिकी रिपब्लिकन पार्टीका महत्वपूर्ण कोष सङ्कलक मेग ह्वीटम्यानले द न्युयोर्क टाइम्ससँगको कुराकानीमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बनेका नेता डोनाल्ड ट्रम्पलाई ‘खतरनाक दुर्जनको नेता’ भनी आलोचना गरेका छन् । उनले आफ्नो अर्थ सङ्कलन अभियानबाट जुटेको सबै पैसा डेमोक्र्याटिक पार्टीकी नेत्री एवम् राष्ट्रपतिका उम्मेदवार क्लिन्टनलाई दिनेसमेत बताएका छन् । म हिलारीलाई मतदान गर्छु र मेरा रिपब्लिकन साथीहरूलाई पनि हिलारीलाई मतदान गर्न अनुरोध गर्नेछु, ह्वीटम्यानले बताएका छन् ।
हुन त अमेरिकी राष्ट्रपतिको हरेक निर्वाचनमा कुनै न कुनै नयाँ एजेन्डा हुन्छ र नयाँ विषयले चर्चा पनि पाउँछ । तर यस पटकको निर्वाचनको चर्चा भने यसभन्दा अघिल्लाहरुको भन्दा फरक खालको छ र विशेष गरी उम्मेदवारको लैङ्गिक विषयले यसपालि व्यापक चर्चा पाएको छ । विश्वको एक प्रमुख शक्तिराष्ट्र र महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठ पढाउने अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति भएका छैनन् । यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल, पाकिस्तान, बङ्गलादेश र हाल आएर नेपालसमेत महिलाले राष्ट्रपति पदको जिम्मेवारी पाईसकेका छन् ।
विश्वमा राष्ट्र प्रमुख वा सरकार प्रमुखजस्ता सर्वोच्च पदका लागि उम्मेदवार भएको व्यक्तिले जनतामाझ देखाउने विभिन्न चुनावी एजेन्डाजस्तै अमेरिकी राष्ट्रपतिका उम्मेदवार बन्नु भएकी हिलारीले पनि पार्टीको औपचारीक घोषणालाई स्वीकार र स्वागत गर्दै आफु राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा वृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष्य रहेको आफ्नो चुनावी प्रचारमा ब्यक्त गरेका छन् । साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सङ्घर्ष गर्ने आम सम्बोधन पनि गरे । अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकांक्षा पालेकी हिलारीले लामो समयसम्म अमेरिकी विदेश मन्त्रालयको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गरेकी थिइन् । उनको विदेश मन्त्रीको कार्यकाललाई सफल कार्यकालको रुपमा चर्चा गरिने गरिन्छ ।
विश्वका सबै नेताको भाषणको अग्रपंक्तिमा आउने ‘आतङ्कवादलाई विश्वबाट निर्मूल पार्ने’ वाक्य हिलारीले पनि दोहोर्याएकी छन् । आफ्नो उम्मेदवारीको एउटा सन्दर्भमा उनले ‘बग्दाददेखि काबुलसम्म, निसदेखि पेरिस र ब्रुसेल्ससम्म, सान बर्नार्डिनोदेखि ओल्र्यान्डोसम्म बाटा भरी काँडैकाँडा बिच्छ्याइएका समाचार पत्रपत्रिका हेर्ने सबैले दिनका दिन पढिरहेका छन् । धम्की र विचलनको त्रासवश ती सबैले अमेरिकालाई नै याचनाको आँखाले हेरिरहेका छन् । अमेरिकाले यस्ता सबै चुनौतिको सामना गर्दै शान्तिका लागि धर्मयुद्धमा होमिई ज्ञात शत्रुलाई जित्नै पर्छ, भनेकी छन् ।
आतङ्कवादलाई नियन्त्रणमा गर्ने क्लिन्टनको अभिब्यक्ति बोलाइमा मात्र सीमित हुन्छ भन कदापी मिल्दैन । यो प्रष्ट छ बाराक ओबामाको पहिलो कार्यकालमा विदेश मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निभाएकी क्लिन्टनले ओबामाको हरेक विदेश नीतिको समर्थन मात्र होइन कि त्यसलाई सफल बनाउने काममा निकै प्रयत्न गरेकी थिइन् । अफगानिस्तानमा नेटो सेनाको निरन्तरता, लिबियामा कर्णेल गद्दाफि माथिको कारबाही, मध्यपूर्वी राष्ट्रहरुको प्रजातन्त्रका लागि भएको आन्दोलनमा समर्थन, अल कायदाका नेता ओसामा बिन लादेनमाथिको कारबाहीलगायत यस्ता कैयौँ अमेरिकी नीतिमा हिलारीको बलिष्ठ सहयोग रहेका कारण यी सब सफल भएका थिए ।
संयुक्त राज्य अमेरिकाका ४२औँ राष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्न सक्ने महिलाको रुपमा पनि परिचित छिन् । उनी सन् २००० को नोभेम्बर ७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको सिनेटरका रुपमा निर्वाचित भई सन् २००१ देखि २००९ को सुरुवातसम्म न्युयोर्क राज्यको सिनेटरको जिम्मेवारी बहन गरी सकेकी छिन् । सो निर्वाचनको ठीक १६ वर्षपछि अमेरिकाको, अझ उदार शब्दमा भन्ने हो भने विश्व कै सर्वोच्च पदका लागि अर्का महानिर्वाचन प्रतिस्पर्धामा उभिएकी छिन् ।
वास्तवमा उनको सक्रिय राजनीति त्यही सिनेटर पदसँगै सुरु भएको हो । त्यसपछि, वर्तमान राष्ट्रपति बाराक ओमाबाको पहिलो कार्यकालमा अर्थात् सन् २००९ को जनवरी २१ मा अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी पाई सन् २०१३ सम्म त्यसलाई उत्कृष्टतापूर्वक बहन गर्न सफल भएकी थिइन् । पदीय दायित्वका हिसाबले अमेरिकी विदेशमन्त्रीको पद अत्यन्त जटिल र चतुरताका साथ सम्हाल्नु पर्ने र मर्यादाका हिसाबले यस पदले अन्यभन्दा सदैब उच्च स्थान ओगट्ने गरेको छ । उनले विदेशमन्त्रीको हैसियतले अमेरिका बाहिर भ्रमणमा गएका बखत त्यहाँको समस्या सुल्झाउने अभिप्रायका लागि गरेको कतिपय प्रयास अमेरिकी इतिहासको रेकर्डलाई नै तोड्ने खालका थिए । यसरी लामो समयसम्म गरिमामय पद सम्हालेर क्रान्तिकारी र उत्कृष्ट कार्य सम्पादन क्षमता र शैलिको प्रदर्शन गरेकीले उनी अमेरिकाको एकजना प्रभावशाली र मेधावी महिला नेत्रीको रुपमा पनि परिचित भई आम अमेरिकी नागरिकबाट मनग्ग्य प्रशंसा बटुलेकी थिइन् ।
अहिले पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि औपचारिक उम्मेदवार भएपछि मात्र होइन कि यस अघि पनि क्लिन्टनले अमेरिकाको ६७औँ विदेश मन्त्रीको पदभार उत्कृष्टतापूर्वक सम्हालेका अवधिमा राष्ट्रपति ओबामाले मुक्तकण्ठले सार्वजनिकरुपमा प्रशसा गर्दै आउनुका साथै पटकपटक उनकै अबिरल मेहनतबाट आफूलाई सफलता प्राप्त भएको टिप्पणी पनि बारम्बार गर्दै आएका छन् ।
त्यसो त अमेरिकी वर्तमान राष्ट्रपति बाराक ओबामाकै पहिलो कार्यकाल अघि हुन लागेको निर्वाचनमा उनले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर पार्टीका बुद्धिजीवि विश्लेषकहरुले सायद त्यस पटक कालो वर्णका नेतालाई शासनको बागडोर सम्हाल्न दिनु उचित ठानेरै होला बाराक ओबामालाई अघिसारेपछि क्लिन्टनको कदम फिर्ता भयो । यही कारण नै पहिलो कार्यकालमा राष्ट्रपति बाराक ओबामाले उनलाई विदेशमन्त्री बनाएका थिए भन्ने चर्चा छ ।
यसअघि लामो समयसम्म आफूलाई सुम्पेका भूमिका तथा दायित्वहरु क्लिन्टनले सफलतापूर्वक निर्बाह गर्नु भएको सवैले प्रत्यक्ष देखिसकेका छन् । विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्रपति हुने रोलक्रममा नजिकै उभिएकी हिलारी यस पदका लागि योग्य रहेको कथन आज राष्ट्रपति ओबामाको मात्र होइन, अपितु विश्वका प्रायः बुद्धिजीविहरुको भनाइ रहेको छ ।
आगामी नोभेम्बर ८ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा उनको विजयको कामना गर्दै निर्वाचित भएपश्चात् पहिला पहिला जस्तै अमेरिकी राष्ट्रपति जस्तो गरिमामय पदको दायित्व र नेतृत्व पनि उत्कष्टता पूर्वक निभाउन सफल हुने छिन् भन्ने सबैले अनुमान गरिरहेका छन् । विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई सम्मान गर्नेछ भन्ने पनि सम्पूर्ण विश्वको चाहना रहेको छ । (रासस/विभिन्न एजेन्सीहरुको सहयोगमा)