काठमाडौं, २१ साउन । अघिल्लो सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम मन्त्रीपरिषद बैठकले फिर्ता लिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको दोस्रो मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो ।
संसदीय सुनुवाई विशेष समितिमा प्रस्ताबित राजदूतहरु मध्ये परराष्ट्रसेवाबाट सिफरिस भएकाहरुको सुनुवाई भइसकेको छ भने राजनीतिक दलको कोटाबाट सिफरिसमा परेकाहरुको नाम फिर्ता भएको हो । फिर्ता भएकामा माओवादी केन्द्रका पनि छन् । परराष्ट्रका सहसचिव बाहेक १४ जना राजनीतिक व्यक्तिहरु राजदूतका लागि सिफारिस भएका थिए । सिफारिस भएका २२ राजदूतमध्ये अन्य परराष्ट्र सेवाका हुन् । जसमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा. खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की थिए ।
त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । त्यस्तै खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ । यी मध्ये थापा र रायमाझी राप्रपा नेपालको कोटाका हुन् भने बस्न्यात राप्रपा र पराजुली बिजय गच्छदारको पार्टीबाट सिफारिस भएका हुन् । उनीहरुको नाम गत बैशाख ७ गतेको मन्त्रिपरिषद बैठकले बिभिन्न देशको राजदूतका लागि सिफारिस गरेको थियो ।
अन्य ८ सहसचिवको भने सुनुवाई निरन्तर हुनेछ । सहसचिवबाट प्रस्ताबित राजदूतमा सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, दुर्गावहादुर क्षेत्री र लोकवहाबहादुर थापा सिफारिस भएका थिए ।
प्रकाशित मिति: २१ श्रावण २०७३, शुक्रबार १६:२५