काठमाडौँ, २१ साउन । नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसवर्ष जाजरकोटका पत्रकार जनक केसी पुरस्कृत भएका छन् ।
हरेक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ सहित सम्मानपत्र रहेको छ । नेपाल पत्रकार महाङ्घको सहकार्यमा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले सो पुरस्कार स्थापना गरेको हो ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र नेजाका वरिष्ठ उपाध्यक्ष गुणराज लुइँटेलले संयुक्त रुपमा पत्रकार केसीलाई महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरेका हुन् ।
पत्रकार आचार्यलाई आर्थिक सहयोग
यसैगरी सोही कार्यक्रममा नेजाद्वारा सङ्कलित रु दुई लाख ४५ हजार ९६४ रकम पत्रकार नरहरि आचार्यलाई हस्तान्तरण गरिएको थियो । राष्ट्रिय समाचार समिति (रासस) रौतहट जिल्ला समाचारदाताका रुपमा कार्यरत पत्रकार आचार्य गत जेठ ३० गते सडक दुर्घटनामा परेका थिए । सो दुर्घटनामा परी उनले श्रीमती गुमाएका थिए ।
यसअघि, नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा राससमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीबाट सङ्कलन भएको करिब रु २४ हजार समाचारदाता आचार्यलाई प्रदान गरिसकेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा विष्टले पत्रकारको सामाजिक सुरक्षाअन्तर्गत दुर्घटना बिमा, स्वास्थ्य उपचार सुविधा, ज्येष्ठ पत्रकार सम्मानवृत्ति, पत्रकार सन्तति शिक्षालगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
सो अवसरमा नेजाका उपाध्यक्ष लुइँटेलले महासङ्घसितको सहकार्य जारी रहने जानकारी दिनुभयो । पुरस्कृत केसी र सहयोग प्राप्त गर्नुहुने पत्रकार आचार्यले महासङ्घ र नेजालाई धन्यवाद दिए ।
कार्यक्रममा राससका महाप्रबन्धक निर्मला आचार्य, महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारी, अनिता विन्दु, महासचिव उजिर मगर, सचिव प्रभाव चलाउने, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, सञ्चारविज्ञ डा कुन्दन अर्याल तथा सूचना विभागका महानिर्देशक रघुराम विष्टको समेत उपस्थिति रहेको थियो । रासस