वीरगन्ज २१ साउन–आधाभन्दा बढी आयातनिर्यात कारोबार हुँदै आएको वीरगञ्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँचचौकी (आईसीपी)का पूरक पूर्वाधारको प्रबन्धमा बेवास्ता गरिए इन्धन र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा समस्या हुने देखिएको छ । सञ्चालन र अत्यावश्यकीय पूर्वाधार निर्माणमा देखिएको अन्योलप्रति स्वदेशी आयातकर्ताले चिन्ता प्रकट गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले आईसीपीको प्रभावकारी सञ्चालनका लागि अत्यावश्यकीय भौतिक संरचना निर्माणमा बेवास्ता गरिएको आरोप लगाए । सहज पहुँच मार्गको अभावका कारण आईसीपी सञ्चालनमा आएपछि नेपालतर्फको पेट्रोलियम र औद्योगिक कच्चा पदार्थको आपूर्ति असहज हुने अध्यक्ष केडियाको दाबी छ । अहिलेकै अवस्थामा आईसीपी सञ्चालन गरिए कतिपय अन्य वस्तुको आयातनिर्यात पनि प्रभावित हुने सरोकारवालाले बताएका छन् ।
भारतीय रेलवेबाट सीधै रक्सौलसम्म ल्याइने पेट्रोलियम र सिमेण्ट, क्लिङ्कर, कोइला, आइरनओरजस्ता डष्टी कार्गोको ढुवानीमा समस्या हुने देखिएको छ । नेपाललाई इन्धन आपूर्ति गर्दै आएको भारतीय आयल निगमको डिपो रक्सौलमा छ । रेलबाट रक्सौल डिपोमा आएको इन्धन र कच्चा पदार्थ अहिले वीरगञ्ज नाकाबाट भित्रिने गरेको छ ।
अहिले रक्सौलमा यस्ता कार्गोमात्र मासिक २ सय र्याकको हाराहारीमा आउँछन् । यो आधारमा महीनामा कम्तीमा ५ लाख मेट्रिकटन मालसामान रक्सौलमै ल्याउनुपर्ने बाध्यता छ । नेपालको कुल पेट्रोलियम आपूर्तिमा वीरगञ्ज नाकाबाट ७० प्रतिशत भित्रिने गरेको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
डष्टी कार्गोमा आउने वस्तुसमेत रेलवेको रक्सौल गोदाममा अनलोड भएर नेपाल ल्याउने गरिएको छ । निर्माणाधीन आईसीपीमा पेट्रोलियम भण्डारण र अन्य मालवस्तुका लागि पर्याप्त गोदामको प्रबन्ध नभएकाले अहिलेको पूर्वाधारमा यस्ता वस्तु रक्सौलबाटै आईसीपीसम्म पुर्याउनुपर्ने बाध्यता देखिएको आयातकर्ता माधव राजपाल बताउँछन् ।
आईसीपीमा डष्टी कार्गोका लागि गोदामको पनि व्यवस्था छैन । १ दशकदेखि सञ्चालन भइरहेको वीरगञ्जकै सुक्खा बन्दरगाहमा समेत यो सुविधा नभएकाले रक्सौलको विकल्प छैन ।
अहिले करीब आधा
किलोमिटरको सडक दूरीमा वीरगञ्ज आउने मालसामान आईसीपीमार्फत ल्याउँदा १३ किलोमिटर पर्ने अध्यक्ष केडियाले बताए । ‘आईसीपीसम्म सहज पहुँच र भण्डारणको अभावका कारण आयातमा समस्या हुने देखियो । विकल्प नखोजी सञ्चालन गर्ने हो भने अत्यावश्यकीय वस्तुको आपूर्ति नै असहज हुन्छ,’ केडियाले आर्थिक अभियानसित भने ।
रक्सौलबाट आईसीपी करीब १ किलोमिटरको दूरीमा भए पनि सीधा सडक पहुँच नभएकाले रक्सौलबाट ६ किलोमिटर दक्षिण लक्ष्मीपुर पुगेर त्यहाँबाट आईसीपीको सम्पर्क सडकको ७ किलोमिटर पार गर्नुपर्छ । यसबीचमा २ ठाउँमा रेलवेको क्रशिङ पर्छ ।
रेलवे क्रशिङमा हुने जाम समाधानका लागि आकाशे पुल निर्माणको माग राख्दै आए पनि पूरा हुन सकेको छैन । अहिले रेलवे क्रशिङमै दैनिक सरदर ८ घण्टा जाम हुने गरेको छ । ‘अरू मालसामान सोझै आईसीपी पुगे पनि पेट्रोलियम र केही औद्योगिक कच्चा पदार्थलगायतको ढुवानीमा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने हुन्छ,’ राजपालले भने । घुमाउरो बाटो र जाम झेलेर इन्धनको आधा परिमाण पनि ढुवानी हुन नसक्ने आयातकर्ता बताउँछन् । अहिले वीरगञ्जबाट दैनिक २ सयदेखि साढे २ सयसम्म ट्याङ्कर भित्रिने गरेका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेल आईसीपी सञ्चालन भइसकेपछिको कार्यविधि र मापदण्ड अहिले नै स्पष्ट भइनसकेको बताउँछन् । उनले अहिलेकै अवस्थामा आईसीपी सञ्चालन भए ढुवानी झन्झटिलो हुन सक्ने भने स्वीकार गरे । ‘आयातनिर्यातलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा अहिले नै केही स्पष्ट भएको छैन,’ उनले भने । आईसीपी सञ्चालनमा आएपछि दुवै देशको भन्सारसमेत सोही स्थानमा स्थानान्तरण हुन्छ ।
आयातकर्ताले रक्सौल
विमानस्थलसम्मको बाटोलाई वैकल्पिक सम्पर्क सडकका रूपमा प्रयोग गर्न सकिने बताएका छन् । सङ्घले भारतीय रक्सौल कष्टम, रेलवे र वीरगञ्जको भारतीय महावाणिज्यदूतावासलाई यसबारेमा ध्यानाकर्षण गराएको अध्यक्ष केडियाले बताए । सो सडक अहिले एकतर्फीमात्र सञ्चालन गर्न सकिने साँघुरो रहेकाले फराकिलो बनाएर रक्सौलदेखि आईसीपीसम्मको ढुवानी सहज बनाउन सकिने उनले बताए ।
यसअघि आईसीपीमा गोदामको पर्याप्त प्रबन्ध नभएको भन्दै सङ्घले वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।
निर्माणाधीन आईसीपीमा दुवैतर्फको गोदाम अत्यन्त सानो भएको आयातकर्ताले बताउँदै आएका छन् । केही समयअघि तत्कालीन अर्थमन्त्रीसहितको टोलीले यसको स्थलगत निरीक्षण गरे पनि सुधारको कुनै पहल नभएको उनीहरूको गुनासो छ ।
नेपालतर्फको ३० प्रतिशत काम बाँकी नै रहेको अवस्थामा भारततर्फको निर्माण सकेर एकतर्फी सञ्चालन गरेपछि झन् अन्योल बढेको छ । भारतले गत जेठ २१ गते आफ्नो तर्फको जाँचचौकी उद्घाटन गरिसकेको छ । दुवैतर्फ समान भौतिक संरचना निर्माण भएपछि एकीकृत रूपमा सञ्चालन गरिने सम्झौता भए पनि भारतले एकतर्फी सञ्चालनमा ल्याएको भन्दै आयातकर्ताले विरोध गरेका थिए । यसबाट स्वदेशी आयातकर्तालाई समस्या पर्ने थियो ।
भारतीय पक्षले आईसीपीबाट अहिले पनि हप्तामा २/४ ओटा गाडीको जाँचपासको प्रक्रिया पु¥याएर साङ्केतिक रूपमा काम गरिरहेको वीरगञ्ज भन्सारले बताएको छ । २ वर्षभित्र सञ्चालनको लक्ष्य राखेर सन् २०११ मा निर्माण शुरू भएको आईसीपी साढे ४ वर्ष बितिसक्दा पनि निर्माण पूरा भएको छैन ।
प्रकाशित मिति: २१ श्रावण २०७३, शुक्रबार ०६:५२