ललितपुर, २० साउन । पाटनस्थित ललितपुर संरक्षित स्मारक क्षेत्रअन्तर्गतका सम्पदाको पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढेको छ । आगामी पाँच वर्षमा काम पूरा भइसक्ने दरबार हेरचाह कार्यालयको दाबी छ ।
विश्व सम्पदा सूचीमा समेत सूचीकृत यस क्षेत्रका कतिपय स्मारक पूर्ण क्षति र कतिपय आंशिक क्षति भएका थिए । भूकम्पअघि नै काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)ले पुनःनिर्माणको काम गर्दै आएको थियो । केभिपिटीले भूकम्पपछि पुरातत्व विभाग र कार्यालयको स्वीकृतिमा थप स्मारक पुनःनिर्माणले जिम्मा लिएको छ ।
कार्यालयका प्रमुख काजी प्याकुरेल सम्पदाको पुनःनिर्माण प्राविधिक काम भएकाले अरुभन्दा समय लाग्ने बताउँछन् । उनले भने – “विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा पुनःनिर्माण गर्दा धेरै कुरामा ध्यान दिएर काम गर्नुपर्छ ।”
सुन्दरी चोक र तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको प्याकुरेलले बताउनुभयो । चार नारायण मन्दिर, हरिशङ्कर मन्दिर, दुईवटा मणि मण्डल र भीमसेन मन्दिरअघिको सिंह स्तम्भको पनि पुनःनिर्माण सुरु भएको छ ।
भूकम्पपछि क्षतिग्रस्त भएका स्मारकका महत्वपूर्ण भागको संरक्षणमा पनि कार्यालयले ध्यान दिइरहेको छ । भूकम्पका समयमा स्मारकका साना भागहरु हराए पनि ठूला र महत्वपूर्ण भागहरु नहराएको कार्यालयको दाबी छ । पूर्ण क्षति भएका स्मारकका महत्वपूर्ण भागहरु कार्यालयले संरक्षण गरिरहेको उनले बताए ।
गजुरदेखि फेदसम्मका धेरै भाग हराउन नपाउन् भनेर भूकम्पपछि कार्यालयले ती वस्तुको विशेष संरक्षण गरेको थियो । अस्थायी रुपमा मन्दिरअनुसार टुँडाल, खम्बा, खापालगायतका सबै भाग छुट्याएर राखिएको उनले बताए । उनले भने – “अहिले पनि हामी संरक्षणमा उत्तिकै ध्यान दिइरहेका छौँ ।”
स्मारक भत्कँदा कतिपय भाग फुटेर बिग्रिएका थिए । ती चिजलाई सङ्ग्रहालयमा संरक्षण गरेर राखिने उनले बताए । पुनः प्रयोग गर्न सकिने वस्तु भने प्रयोगमा ल्याइने प्याकुरेलले बताए । उनले भने – “भूकम्पका समयमा भत्किएका स्मारकका महत्वपूर्ण भागको समेत हामी मर्मत गरिरहेका छौँ ।” सम्पदाको पुनःनिर्माण गर्दा पुरानो स्वरुप बिग्रन नदिने कुरामा ध्यान दिइन्छ । प्रयोग हुनेसम्मका कुराहरु पुरानै र प्रयोग गर्नै नसकिने अवस्था भएमात्र स्वरुप नबदलिने गरी नयाँ सामग्रीको प्रयोग हुन्छ ।
यस क्षेत्रमा चार नारायण मन्दिर, हरिशङ्कर मन्दिर, दुईवटा मणिमण्डप पूर्ण क्षति भएका थिए । सिंह स्तम्भ र योगनरेन्द्रको स्तम्भको माथिल्लो भाग र राधाकृष्ण मन्दिर पनि पूर्ण क्षति भएको थियो ।
पाटनका धेरै सम्पदामा आंशिक क्षति भएका थिए । गत वर्षको विनाशकारी भूकम्पले प्रसिद्ध कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, भीमसेन मन्दिर, ठूलो घन्टा आंशिक क्षति पु¥याएको थियो । आंशिक क्षति भएका स्मारकमा च्यासिङ्देव, केशवनारायण चोक, पुरानो अदालत भवन छन् ।
देशभरका सम्पदाको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरणले रु दुई अर्ब ३१ करोड छुट्याएको थियो । पुरातत्व विभागले भूकम्प प्रभावित जिल्लामा क्षतिग्रस्त भएका सम्पदा पुनःनिर्माणका लागि ४९ वटा टेन्डर स्वीकार गरेर काम गरिरहेको छ । ललितपुर जिल्लामा भने शङ्खमूलस्थित जगतनारायण मन्दिर, कुम्भेश्वर, बुङ्मति र खोकनाका विभिन्न स्मारकमा पुनःनिर्माणका कार्य अघि बढ्नेछ । रासस