काठमाडौं, १६ साउन- औषधि बनाउन भनेर भित्राएको रसायन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा व्यवसायी रतन संघाई पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनलाई शनिबार पक्राउ गरेको हो । सिउडोइफेड्रिन नामक सहायक रसायन (प्रिक्रसर) अवैध कारोबारको आरोपमा संघाइ पक्राउ परेका हुन् ।
उनको कम्पनीबाट चार सय ९२ किलो सहायक रसायन बरामद भएको थियो । रुघाखोकीको औषधि बनाउन भनेर आयात गरी लागुऔषध कारोबारीलाई बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।
एमफेटामाइन (आइस ड्रग) बनाउने समूहलाई संघाई समूहले लामो समयदेखि बिक्री गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
लागुऔषध रसायन चीन र बर्मामा तस्करी
संघाईको लगानी रहेको आर्या फर्मास्युटिकल्सले सो सहायक रसायन नेपाल भित्र्याई अवैध रूपमा बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।
सहायक रसायन चीन र बर्मामा तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘प्रतिकिलो १० हजार रुपैयाँमा आयात गरेर एक लाख रुपैयाँसम्ममा बिक्री हुँदै आएको खुलेको छ,’ ब्युरोका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘औषधि बनाउन नभई तस्करीकै लागि ठूलो मात्रामा सिउडोइफेड्रिन आयात गर्दै आएको देखिएको छ ।’
सिउडोइफेड्रिन स्विट्जरल्यान्डबाट आयात
सिउडोइफेड्रिन सहायक रसायन स्विट्जरल्यान्डबाट नेपालमा आयात हुने गरेको छ । प्रहरीका अनुसार नेपालबाट काँकडभिट्टा नाका हुँदै भारत पुर्याई त्यहाँबाट चीन र बर्मा पुर्याइन्छ । यसमा विभिन्न तहका लागुऔषध कारोबारीको गिरोह संलग्न रहेको प्रहरी अधिकारी बताउाछन् ।
दुरुपयोग हुनसक्ने भएकाले गृह मन्त्रालयको स्वीकृतिमा मात्र यस्तो सहायक रसायनको आयात गर्न पाइन्छ । तर, उक्त कम्पनीले अत्यधिक मात्रामा सिउडोइफेड्रिन आयात गरेपछि प्रहरी अधिकारीले शंका गर्दै आएका थिए ।
दुई महिनाअघि पक्राउ परेका एक आइस ड्रगका कारोबारीबाट पनि प्रहरीले त्यससम्बन्धी थप सूचना पाएको थियो । ब्युरोले ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको संघाई ग्रुपबाट ४ सय ७१ केजी दशमलव ८८ केजी रसायन बरामद गरेको थियो ।
प्रहरीले आज सार्वजनिक गर्दै
प्रहरीले सुरुमा आर्य फर्मा ल्याबका कर्मचारी दिलीप मण्डललाई २० केजी रसायनसहित पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्ने क्रममा पाटनस्थित प्लास्टिक उद्योगमा लुकाएको अवस्थामा थप रसायन बरामद भएको हो । आर्या फर्मास्युटिकल्सको उद्योग बाराको जितपुरमा छ ।
तर, काठमाडौंमा ल्याएर उक्त रसायन बिक्री गरिदै आएको थियो । प्रहरीले आर्या फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक मोहित हलनलाई पक्राउ गरिसकेको छ । हलनलाई बाराको जितपुरबाट तथा पण्डितलाई ज्ञानेश्वरस्थित आर्य फर्मा ल्याबबाट पक्राउ गरिएको हो । मण्डल भारतीय नागरिक हुन् । प्रहरीले घटनाको विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
रतन संघाई एचपी ग्यासका सञ्चालक संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा एउटै कोठामा एकै किसिमका ९ सय ५२ डिब्बामा लुकाइराखेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो । प्राविधिकहरूसहित प्रहरीले उक्त कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ ।
नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको संघाई ग्रुपकै कम्पनी हो आर्या फर्मास्युटिकल्स । सो कम्पनीका सञ्चालक रतन एचपी ग्यासका सञ्चालक पनि हुन् । कमसल सिलिन्डर बिक्री गरेको आरोपमा गत महिना एचपी ग्यासमाथि कारबाही भएको थियो ।
प्रकाशित मिति: १६ श्रावण २०७३, आईतवार ०७:३३