काठमाडौं, १५ साउन । देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् । हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा अपराधका २८ हजार पाँच सय ६३ घटना दर्ता भएका छन् । अपराधका घटना आव ०७१/७२ मा २८ हजार ७० थिए । आव ०७०/७१ मा भने २७ हजार तीन सय ८६ घटना भएका थिए । प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले प्रहरीको सक्रियताले अपराधको वृद्धिदर घटेको बताए । ‘गत वर्ष देशको अवस्था निकै असामान्य थियो,’ जोशी भन्छन्, ‘यस्तो अवस्थामा पनि नगन्य मात्र अपराध बढ्नु भनेको हाम्रो सफलता नै मान्नुपर्छ।’ प्रहरीका अनुसार पछिल्ला वर्षमा हत्या, हातहतियारजस्ता अपराधका घटना घटेका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
बलात्कार तथा मानव बेचबिखन, ठगीजस्ता सामाजिक अपराधका घटना भने बढ्दै गएको प्रहरीको तथ्यांक छ । डाँका–चोरी, लागुऔषधका घटना पनि बढेका छन् । कालोबजारीसम्बन्धी कारबाही करिब तीन गुना बढेको छ । अघिल्लो वर्ष ९४ मुद्दामा कारबाही भएकोमा आव ०७२/७३ मा तीन सय ४४ मुद्दामा कारबाही भएको छ । अघिल्लो वर्ष ७० जनाको अपहरण भएकोमा गत आवमा ७७ जनाको अपहरण भएको छ ।
बलात्कारका घटना अघिल्लो वर्ष नौ सय ८१ रहेकोमा गत आवमा एक हजार ९० रहेको तथा मानव बेचबिखनका घटना एक सय ८१ बाट बढेर दुई सय १२ पुगेको प्रहरीको तथ्यांक छ ।
एक वर्षमा पाँच सय ९८ को हत्या
दैनिक १२ आत्महत्या
प्रहरीको तथ्यांकअनुसार औसतमा दैनिक १२ नेपालीले आत्महत्या गर्ने गरेका छन् । आव ०७२/७३ मा चार हजार ६ सय ६७ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा मात्र दैनिक दुईजनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । आत्महत्याका घटना बढेका छन् । अघिल्लो आवमा चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेको थिए । धेरैले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ ।
तीन हजार तीन सय ६६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक हजार एक सय ८३ ले विष सेवन, ३० ले शरीरमा आगो लगाएर, ६५ ले हाम फालेर, चारजनाले करेन्ट लगाएर, १३ जनाले हातहतियार प्रयोग गरेर तथा ६ जनाले पानीमा हामफालेर आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।
आव ०७२/७३ मा देशभर ५९८ को हत्या भएको प्रहरीको तथ्यांक छ । तीमध्ये एकको डाँका समूहद्वारा हत्या भएको हो । ६ सय ६४ जनामाथि हत्या प्रयास भएको छ । प्रहरीका अनुसार हत्याका घटना केही घटेका छन् । आव ०७१/७२ मा भने ६०८ को हत्या भएको थियो भने ७०५ को हत्या प्रयास भएको थियो ।
प्रकाशित मिति: १५ श्रावण २०७३, शनिबार ०७:१०