काठमाडौँ, १३ साउन । पुनरावेदन अदालत पाटनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी सङ्गठनबाट प्रतिनिधित्व गर्ने अध्यक्षसहित तीन पदाधिकारी र सदस्यको वैधानिकताबारे विवाद भएपछि छलफलका लागि पुनःबोलाएको छ ।
मुद्दा तामेली नभएका कारण आउँदो बुधबार बोलाएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए । पुनरावेदन अदालतले सोमबार युनियनमा प्रतिनिधित्व गर्ने अध्यक्षलगायत पदाधिकारीलाई कुनै पनि काम नगर्न नगराउन आदेश दिएपछि वैधानिकताका बारेमा छलफलका लागि नेपाल निजामती कर्मचारी सङ्गठनबाट युनियनमा प्रतिनिधित्व गर्ने अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ सदस्यलाई १९ गते बोलाएको हो ।
नवनिर्वाचित युनियनका अध्यक्ष ढकालले अदालतले आफूहरुलाई काम नगर्न भनेपछि वैधानिकताका बारेमा छलफल गर्न बोलाएको जानकारी गराए । ‘हाम्रो सङ्गठनले निर्वाचन कार्यालयले तोकेको समयसीमाभित्र युनियनमा प्रतिनिधित्व गर्ने नामावली पठाएनौँ’ – उनले भने– ‘पछि नाम पठाएको हुनाले अदातलमा रिट प¥यो । हामीलाई काम नगराउन आदेश आयो ।
समयसीमा पछि पठाएको हाम्रो नामबारे छलफल गर्न बोलाइएको हो ।’ जेठ १९ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न भए पनि सङ्गठनतर्फबाट कसलाई पठाउने विवाद भएपछि असार ३० गते मात्र निर्वाचन कार्यालयमा नाम पठाइएको थियो । निर्वाचन कार्यालयले निर्वाचन सम्पन्न भएको १५ दिनभित्र युनियनमा सङ्गठनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीको नाम पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ ।
निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल र नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर ट्रेड युनियनमा प्रतिनिधित्व गरेका छन् ।
प्रकाशित मिति: १३ श्रावण २०७३, बिहीबार ०९:२६