सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउँदै प्रतियोगिताप्रति अपनत्व, उत्साह र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले स्मरणिका सामग्री वितरण गरेको छ।
परिषद्ले आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका विभिन्न सरोकारवालाहरूलाई प्रतियोगितासँग सम्बन्धित स्मरणिका सामग्री वितरण गरेको हो।
यसै अवसरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, प्रचार–प्रसार, व्यवस्थापन तथा सफल आयोजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरव, प्रतिष्ठा र महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण कर्णालीवासीको साथ, सहयोग र सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
साथै, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कर्णालीको साझा गौरव र अपनत्वको विषयका रूपमा लिँदै प्रतियोगिताको स्वागत तथा सफल आयोजनाका लागि एकजुट हुन उहाँले सम्पूर्ण कर्णालीवासीमा हार्दिक अपिल गर्नुभयो।
प्रकाशित मिति: १५ कार्तिक २०८३, शनिबार १७:३४