सुसुर्खेतको सिम्ता गाउँपालिकामा सञ्चार सेवाको गुणस्तर सुधार गर्न र भरपर्दो इन्टरनेट सेवा विस्तार गर्न माग गरिएको छ।गाउँपालिकाका विभिन्न वडामा मोबाइल नेटवर्क तथा इन्टरनेट सेवामा समस्या रहेको भन्दै उद्योग वाणिज्य संघ–भेरी, उपशाखा सिम्ताले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
सिम्ता गाउँपालिकाका वडा नम्बर १, २ र ३ का नागरिकले साँझ तथा रातिको समयमा टेलिफोन गर्नसमेत समस्या भोग्नुपरेको गुनासो गरेका छन्। सञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीय नागरिकलाई आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न तथा आकस्मिक अवस्थामा सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।
सञ्चार सेवाको समस्या समाधान, मोबाइल नेटवर्कको गुणस्तर सुधार तथा नेपाल टेलिकमको भरपर्दो इन्टरनेट सेवा विस्तारको माग गर्दै उद्योग वाणिज्य संघ–भेरी, उपशाखा सिम्ताका अध्यक्ष गंगा प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले नेपाल दूरसञ्चार प्राधिकरण कर्णाली प्रदेश कार्यालयसमक्ष ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र बुझाउन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का, उपमहासचिव पूर्णप्रसाद अधिकारी, गैरसरकारी महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी तथा स्थानीय लक्ष्मीकुमार रेग्मीलगायतको टोली पुगेको थियो।
ज्ञापनपत्रमा सिम्ता गाउँपालिकाका विभिन्न बस्तीमा मोबाइल नेटवर्क तथा इन्टरनेट सेवाको पहुँच र गुणस्तरमा समस्या रहेको उल्लेख गर्दै तत्काल प्राविधिक अध्ययन गरी आवश्यक सुधार गर्न माग गरिएको छ। नेटवर्क कमजोर भएका स्थानमा क्षमता विस्तार, पूर्वाधार विकास तथा नियमित मर्मतसम्भारको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ।
त्यस्तै, सिम्ताका जामुने बजार, गोर्जी बजारलगायत प्रमुख व्यापारिक केन्द्रमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न र सम्भव भएका स्थानमा फाइबर इन्टरनेटको सुविधा उपलब्ध गराउन माग गरिएको छ। ग्रामीण क्षेत्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, व्यवसायी तथा सर्वसाधारणलाई लक्षित गरी गुणस्तरीय र भरपर्दो सञ्चार सेवा उपलब्ध गराउन दीर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
सञ्चार सेवाको समस्याले विद्यार्थीको अनलाइन अध्ययन, शिक्षकको डिजिटल शिक्षण, व्यवसायीको अनलाइन कारोबार तथा सरकारी सेवाको प्रवाहमा असर पारिरहेको संघको भनाइ छ। स्वास्थ्य सेवा तथा आपतकालीन अवस्थामा आवश्यक सूचना आदानप्रदान गर्नसमेत भरपर्दो सञ्चार सेवा अपरिहार्य रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
संघले सिम्ता क्षेत्रमा सञ्चार सेवाको वर्तमान अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक बजेट, प्राविधिक जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्न सम्बन्धित निकायबीच समन्वय गर्न माग गरेको छ।साथै, माग सम्बोधनका लागि चालिने प्रक्रिया, सम्भावित समयसीमा र प्रगतिको जानकारी उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले सिम्ताका ग्रामीण बस्तीमा देखिएको नेटवर्क तथा इन्टरनेटसम्बन्धी समस्या समाधान गरी सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा पुर्याउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा संघले जोड दिएको छ।ज्ञापनपत्र बुझ्दै नेपाल दूरसञ्चार प्राधिकरण कर्णाली प्रदेशका निर्देशक निरण जोशीले सिम्ता क्षेत्रमा देखिएको सञ्चारसम्बन्धी समस्या छिट्टै सम्बोधन हुने गरी काम अघि बढाउने बताउनुभएको छ। उहाँले स्थानीय नागरिकले भोग्नुपरेका समस्यालाई ध्यानमा राख्दै आवश्यक पहल गरिने जनाउनुभयो। सञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानतर्फ काम अघि बढाइने उहाँको भनाइ छ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलवार १७:५०