त्रिभुवन विश्वविद्यालयले पहिलोपटक काठमाडौं बाहिर दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। विश्वविद्यालयले आगामी मंसिरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दीक्षान्त समारोह आयोजना गर्न लागेको हो। यससँगै कर्णाली प्रदेशका विद्यार्थीले आफ्नै प्रदेशमा दीक्षित हुने अवसर पाउने भएका छन्।
यसअघि त्रिभुवन विश्वविद्यालयले काठमाडौंस्थित केन्द्रीय कार्यालय परिसरमा मात्रै दीक्षान्त समारोह आयोजना गर्दै आएको थियो। काठमाडौं बाहिरका विद्यार्थीलाई समेत सहज रूपमा दीक्षान्त समारोहमा सहभागी गराउने उद्देश्यले विश्वविद्यालयले कार्यक्रमलाई अन्य स्थानमा विस्तार गर्न लागेको हो। सोही नीतिअनुसार कर्णालीका विद्यार्थीलाई लक्षित गरी सुर्खेतमा समारोह आयोजना गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।
दीक्षान्त समारोहको तयारीलाई तीव्रता दिने क्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापासहितको टोलीले मंगलबार सुर्खेत बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीमा रजिस्ट्रार डा. रविन्द्र सिवाकोटी, परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेललगायत सहभागी थिए। निरीक्षणका क्रममा कर्णाली प्रदेशमा सञ्चालित विभिन्न क्याम्पसका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
अनुगमन टोलीले दीक्षान्त समारोह आयोजना गरिने स्थलको अवस्था, आवश्यक पूर्वाधार तथा कार्यक्रम सञ्चालनका लागि गर्नुपर्ने तयारीबारे जानकारी लिएको छ। सो अवसरमा त्रिभुवन विश्वविद्यालयका शैक्षिक तथा अन्य कार्यक्रमलाई कर्णाली प्रदेशमा विस्तार गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधवप्रसाद खनालका अनुसार २०८२ साउनदेखि २०८३ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुनका लागि फाराम भर्न सक्नेछन्।
काठमाडौंमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुन भौगोलिक दूरी, यात्रा खर्च तथा अन्य व्यवस्थापकीय कठिनाइ झेल्दै आएका कर्णालीका विद्यार्थीका लागि सुर्खेतमै समारोह आयोजना हुनु महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसले विद्यार्थीलाई दीक्षान्त समारोहमा सहज पहुँच उपलब्ध गराउनुका साथै कर्णालीमा विश्वविद्यालयका गतिविधि विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह पहिलोपटक काठमाडौं बाहिर आयोजना हुन लागेकाले यो कर्णाली प्रदेशका विद्यार्थीका लागि मात्र नभई प्रदेशको उच्च शिक्षा क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा रहने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार ०८:११