जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–१०, सुर्खेतको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको आर्थिक तथा वार्षिक प्रगति, सदस्यलाई प्रदान गरिँदै आएको सेवा र आगामी कार्ययोजनाबारे समीक्षा गर्दै कृषि, पशुपालन, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष गौरी दाहालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाको आर्थिक कारोबार, बचत तथा ऋण लगानी, आम्दानी–खर्चको अवस्था तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र बजेटबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा संस्थाका सचिव कृष्णकुमार विसीले वार्षिक प्रगति प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको हाे।
संस्थाका अनुसार हाल सहकारीमा २ हजार ७१ जना सदस्य रहेका छन्। तीमध्ये महिला सदस्य १ हजार ७ सय ५६ र पुरुष सदस्य ३ सय १५ जना रहेका छन्। संस्थाको शेयर पूँजी १ करोड १६ लाख ४८ हजार रुपैयाँ रहेको छ भने कुल बचत ८ करोड ७८ लाख ४ हजार २ सय ७१ रुपैयाँ पुगेको छ। त्यस्तै, कुल ऋण लगानी तथा बाँकी रकम ८ करोड ३० लाख ४५ हजार ५ सय ६३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
सहकारीले बचत तथा ऋण सेवासँगै कृषि तथा पशुपालन, उद्यमशीलता प्रवद्र्धन, एग्रोभेट सेवा, राहत तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले च्याउ खेती, आलुको बीउ, जैविक मल, बाख्रापालन, तरकारी खेती र मौरीपालनलगायतका उत्पादनमूलक गतिविधिलाई प्राथमिकता दिने योजना अघि सारिएको छ।
संस्थाले आगामी दिनमा कुल ऋण लगानीको कम्तीमा ६० प्रतिशत रकम कृषि, पशुपालन, उत्पादन, संकलन, बजारीकरण तथा साना उद्यममा केन्द्रित गर्ने लक्ष्य लिएको छ। ऋण लगानी गर्दा सदस्यको आम्दानी, भुक्तानी क्षमता, व्यवसायको सम्भाव्यता र धितोलगायतका विषयलाई मूल्यांकन गर्ने नीति लिइएको छ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सहकारी संस्थाले सदस्यको बचत परिचालनसँगै उत्पादन र रोजगारी सिर्जनामा समेत ध्यान दिनुपर्ने बताउनुभयो। कृषि तथा पशुपालन क्षेत्रको विकास, स्थानीय उत्पादनको प्रवद्र्धन र सदस्यको आर्थिक अवस्था सुधार हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्दै सहकारी अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
त्यस्तै, जिल्ला सहकारी संघ सुर्खेतका निवर्तमान अध्यक्ष अमृत बिसीले सहकारीको दिगोपनका लागि पारदर्शिता, सुशासन र सदस्यको विश्वास महत्वपूर्ण हुने बताउनुभयो। सहकारीले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै सदस्यको आर्थिक उन्नतिमा योगदान गर्नुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार विन्द्रा थापाले जनमुखी सहकारीले आत्मनिर्भर किसान तयार पार्ने दिशामा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। सहकारीले किसानको वास्तविक आवश्यकता पहिचान गरी उत्पादन र आयआर्जनसँग जोडिने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो।
सहकारीका अध्यक्ष मधुवन बिसीले सहकारीका मूल्य–मान्यताअनुरूप काम गर्दै सदस्यहरूको आर्थिक पक्षलाई सुदृढ बनाउने र किसानलाई आत्मनिर्भर तथा सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले कृषि तथा पशुपालन क्षेत्रमा सहकारीमार्फत सीपमूलक तालिम, बीउ, मल, कृषि कर्जा तथा प्रविधि उपलब्ध गराउँदै किसानलाई आत्मनिर्भर बनाउने काम भइरहेको बताउनुभयो।
अध्यक्ष बिसीले सहकारीको उद्देश्य सदस्यको बचत संकलन र ऋण लगानीमा मात्र सीमित नभई किसानको उत्पादन, आयआर्जन र बजारसँग जोडेर दीर्घकालीन आर्थिक सुधार ल्याउनु रहेको बताउनुभयो। कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन आवश्यक सीप, प्रविधि र वित्तीय पहुँच विस्तार गर्दै जाने उहाँको भनाइ थियो।
आगामी दिनमा सदस्य संख्या वृद्धि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, ऋण असुलीमा सुधार, निष्क्रिय सदस्य तथा खाताको व्यवस्थापन र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने सहकारीले जनाएको छ। हाल रहेका २ हजार ७१ सदस्यमा थप ३ सय ६९ जना सक्रिय सदस्य थप गरी सदस्य संख्या २ हजार ४ सय ४० पुर्याउने लक्ष्य संस्थाले लिएको छ।
यसैगरी, सहकारीले आगामी वर्ष कृषि, पशुपालन तथा उद्यमशीलतामा आधारित कार्यक्रम विस्तार गर्ने जनाएको छ। च्याउ खेती, आलुको बीउ, जैविक मल, बाख्रापालन, तरकारी खेती र मौरीपालनजस्ता क्षेत्रमा सदस्यलाई प्रोत्साहन तथा आवश्यक सहयोग उपलब्ध गराउने योजना अघि सारिएको छ।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्य तथा उनीहरूका परिवारलाई विभिन्न प्रकारका सहयोगसमेत गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षमा सदस्यको मृत्यु भएका परिवारलाई सहयोग, आश्रित परिवारलाई राहत, सुत्केरी पोषण तथा उपचारलगायतका शीर्षकमा गरी १ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा सहकारीका तर्फबाट कृषक, कर्मचारी, सञ्चालक तथा उत्कृष्ट सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। संस्थाको विकासमा योगदान पुर्याउने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो।
साधारणसभामा संस्थाको आगामी कार्ययोजना, प्रस्तावित बजेट, लेखापरीक्षण, ऋण असुली, सदस्य विस्तार तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा समेत छलफल गरिएको थियो। साधारणसभाले सहकारीलाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी कृषि, पशुपालन, उत्पादन, उद्यमशीलता र सामाजिक सेवामार्फत सदस्यकआर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार १८:२२