रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सुर्खेतस्थित इगरब्रिज आवासीय माध्यमिक विद्यालयले ९ लाख १५५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका सम्पूर्ण विद्यार्थी, गुरु–गुरुआमा, कर्मचारी तथा विद्यालयको संयुक्त पहलमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
विपद्का कारण प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गरेको जनाएको छ।
विद्यालयका प्रमुख दीपेन भुसालले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै मानवीय संवेदना, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गराउन विद्यालयले यस्ता अभियानलाई प्राथमिकता दिँदै आएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय परिवारको संयुक्त प्रयासबाट संकलित यो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ। यस अभियानले विद्यार्थीमा सेवा र सहयोगको भावना अझ बलियो बनाउनेछ।”
शिक्षाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको इगरब्रिजले शैक्षिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले विपद्का बेला सामाजिक संस्थाहरू तथा शैक्षिक क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकालाई समेत उजागर गरेको छ।
विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षासँगै सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: १८ भाद्र २०८३, बिहीबार १९:०६