त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुर्खेत बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कल (एसक्युसी) ले भोटेकोशी बाढीपीडितका लागि राहत रकम सहयोग गरेको छ।
एसक्युसीले क्याम्पसका विद्यार्थीहरूबाट आफ्नो खाजा खर्च कटाएर संकलन गरेको १५ हजार ६ सय ६० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख माधवप्रसाद खनाल, पूर्व क्याम्पस प्रमुख तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार महेन्द्रकुमार मल्ललगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खनालले विद्यार्थीहरूले देखाएको मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनुभयो। विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु प्रेरणादायी कार्य भएको उहाँको भनाइ थियो।
क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूको मासिक तलबबाट रकम कट्टी गरी राहत कोषमा सहयोग गर्ने विश्वविद्यालयको निर्णय रहेको जानकारी दिँदै क्याम्पस प्रमुख खनालले एसक्युसीले अघि बढाएका यस्ता रचनात्मक तथा सामाजिक गतिविधिलाई क्याम्पसले निरन्तर प्रोत्साहन गर्ने बताउनुभयो।
एसक्युसीका संयोजक मनोज उपाध्यायले देश गम्भीर संकटबाट गुज्रिरहेका बेला पीडितको दुःखमा साथ दिनु सबैको कर्तव्य भएको बताउनुभयो। विद्यार्थीहरूले एक छाक नखाएर भए पनि विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउने प्रयास गरेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा पनि स्टुडेन्ट क्वालिटी सर्कल सामाजिक तथा मानवीय कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार १८:१४