सुन्दर नेपाल संस्थाको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
‘सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना’ भन्ने नाराका साथ साधारणसभा सम्पन्न भएको हो।
तीन दशकदेखि सामाजिक विकासका विभिन्न क्षेत्रमा क्रियाशील सुन्दर नेपाल संस्थाले कृषि, स्वास्थ्य, शिक्षा, वन तथा वातावरण, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, संस्थागत सुशासन, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।
सुर्खेतको विद्यापुरमा सानो समूहबाट काम सुरु गरेको संस्थाले अहिले नेपालका चार प्रदेशका २८ जिल्लासम्म आफ्नो कार्यक्षेत्र विस्तार गर्न सफल भएको जनाएको छ।
संस्थाका सचिव उमा कुमारी भट्टराईका अनुसार विभिन्न परियोजनामार्फत हालसम्म ६६ हजार ४ सय ७९३ जना नागरिक लाभान्वित भएका छन्।
साधारणसभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सुन्दर नेपाल संस्थाले तीन दशकको अवधिमा सामाजिक विकासका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले राज्यका सेवा तथा विकासका कार्यक्रम सहज रूपमा पुग्न नसकेका ग्रामीण तथा दुर्गम समुदायसम्म पुगेर गैरसरकारी संस्थाले गरिरहेको कामले नागरिकको जीवनस्तर सुधारमा सहयोग पुगेको उल्लेख गर्नुभयो।
स्थानीय आवश्यकता पहिचान गरेर समुदायको सहभागितामा कार्यक्रम सञ्चालन गर्न सके मात्रै विकासका प्रयास दिगो र प्रभावकारी हुने भन्दै खत्रीले सुन्दर नेपाल संस्थालाई आगामी दिनमा पनि परिणाम देखिने र समुदायले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
उहाँले संस्थाले विगतमा हासिल गरेको अनुभव र उपलब्धिलाई आधार बनाएर बदलिँदो सामाजिक आवश्यकता, प्रविधि, जलवायु परिवर्तन र रोजगारीका चुनौतीलाई सम्बोधन गर्ने गरी कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
संस्थाकी अध्यक्ष माया कुमारी सापकोटाले सुन्दर नेपाल संस्थाको तीन दशक लामो यात्रा कर्मचारी, साधारण सदस्य, साझेदार संस्था, स्थानीय समुदाय र शुभेच्छुकको निरन्तर सहयोग र विश्वासको परिणाम भएको बताउनुभयो।
उहाँले संस्थाले विगतमा गरेका कामको समीक्षा गर्दै आगामी दिनमा थप पारदर्शी, जवाफदेही र समुदायमुखी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बदलिँदो आवश्यकता र प्रविधिको विकाससँगै संस्थाका कार्यक्रमलाई पनि समयानुकूल बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, नवीकरणीय ऊर्जा, वातावरण तथा जीविकोपार्जनका क्षेत्रमा परिणाममुखी कामलाई प्राथमिकता दिने अध्यक्ष सापकोटाले बताउनुभयो।
सभामा सहभागी वक्ताहरूले सुन्दर नेपाल संस्थाले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रहेको भन्दै प्रशंसा गरेका छन।
उनीहरूले राज्यको पहुँच पुग्न नसकेका क्षेत्र तथा समुदायसम्म पुगेर संस्थाले स्वास्थ्य, शिक्षा, कृषि, वातावरण, ऊर्जा तथा जीविकोपार्जनका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन।
कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक, सिम्ता गाउँपालिकाकी उपाध्यक्ष गोमा शर्मा, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ सुर्खेत,नेपाल पत्रकार महासंघलगायत जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलले गर्नुभएको थियो।
oplus_2
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार १७:०९