जाजरकोटको भेरी नगरपालिका रिसाङमा पहिरोका कारण विस्थापित परिवारका लागि कर्णाली प्रदेश सरकारले आपत्कालीन राहत सामग्री पठाएको छ।
पहिरोको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिएका नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न प्रदेश सरकारले खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराएको हो।
मुख्यमन्त्री मंगलबहादुर शाहीको निर्देशनमा प्रभावित परिवारलाई लक्षित गरी राहत सामग्री पठाइएको प्रदेश सरकारले जनाएको छ।
पहिरोका कारण घर तथा बस्ती जोखिममा परेपछि विस्थापित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन प्रदेश सरकार, स्थानीय तह र अन्य निकायबीच समन्वय भइरहेको छ।
प्रदेश सरकारका अनुसार राहत सामग्रीमा चार क्विन्टल चामल, ५० किलो चिउरा, एक सय ५० थान त्रिपाल, दुई रोल प्लास्टिक, २० थान पिफर्म टेन्ट र एक सय ८५ थान ब्ल्याङ्केट रहेका छन्।
प्रभावित परिवारको अवस्था र आवश्यकतालाई आधार बनाएर सामग्री वितरण गरिने जनाइएको छ।
प्रदेश सचिव लक्ष्मीकुमार विकले विपत्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको बताउनुभयो।
प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप राहत सामग्री पठाउने र सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो।
भेरी नगरपालिका–दुई रिसाङमा गएको पहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन।
जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएपछि उनीहरूको खाद्यान्न, आवास तथा स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर राहत तथा उद्धारका काम भइरहेको छ।
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्दै उद्धार तथा राहत व्यवस्थापनलाई निरन्तरता दिएका छन्।
जनाएको छ ।
विपत्का कारण विस्थापित परिवारलाई तत्कालीन राहतसँगै सुरक्षित आवास तथा पुनःस्थापनाका लागि समेत आवश्यक समन्वय गरिने प्रदेश सरकारको भनाइ छ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आईतवार १६:२४