लामो समयदेखि पर्याप्त वर्षा नहुँदा सुक्खाग्रस्त बनेको सुर्खेतको सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले स्थलगत अनुगमन गरेको छ।
खडेरीका कारण कृषि उत्पादन, खानेपानी र जनजीवनमा परेको प्रभावको अध्ययन गरी आवश्यक सिफारिस गर्न कार्यदल प्रभावित क्षेत्रमा पुगेको हो।
सुर्खेतको सिम्ता र सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा पुगेर कार्यदलले धान, मकैलगायत बालीको अवस्था, खानेपानीको समस्या तथा स्थानीयको जनजीवनमा परेको प्रभावबारे जानकारी लिएको छ।
प्रभावित किसानसँग अन्तरक्रिया गर्दै कृषि, पशुपालन र खानेपानी क्षेत्रमा देखिएका समस्याको विवरण पनि संकलन गरिएको छ।
टोलीमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकृषिमन्त्री भीमप्रकाश शर्मा, कार्यदलका संयोजक तथा कृषि विकास कार्यालय सुर्खेतका प्रमुख चित्र रोकाय सिम्ता गाँउपालिका अध्यक्ष ऐनबहादुर चन्द, वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका अधिकारी तथा अन्य सरोकारवालाको सहभागिता थियो।
कार्यदलले स्थलगत अध्ययनबाट प्राप्त तथ्य, सुझाव र निष्कर्ष समेटिएको प्रतिवेदन प्रदेश सरकारसमक्ष बुझाउने जनाएको छ।
प्रतिवेदनका आधारमा राहत, पुनर्स्थापना तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाइने तयारी भएको कार्यदलका संयोजक रोकायले बताउनुभयो।
अनुगमनका क्रममा सिम्ता गाँउपालिकाका अध्यक्ष चन्दले प्रभावित क्षेत्रमा धान र मकैबालीको वास्तविक अवस्था समेटेर प्रतिवेदन तयार पारिने बताउनुभयो।
उहाँले वास्तविक किसानका समस्या सम्बन्धित निकायसम्म पुर्याइने उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि डिप बोरिङमार्फत सिँचाइको व्यवस्था आवश्यक रहेको बताउनुभयो।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार १५:५९