सुर्खेतमा पछिल्ला दुई महिनादेखि खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। घरायसी उपभोक्तादेखि होटल व्यवसायीसम्म ग्यास नपाउँदा दैनिक जनजीवन प्रभावित बनेको छ।
बजारमा ग्यास अभावबारे गुनासो बढेपछि उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, जिल्ला प्रशासन र पत्रकार महासंघ सुर्खेतको टोलीले विभिन्न ग्यास डिपोमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा अधिकांश डिपोमा ग्यास सकिएको भन्दै उपभोक्तालाई रित्तै फर्काइने अवस्था भेटिएको छ।
कतिपय डिपोमा सीमित परिमाणमा ग्यास आए पनि घण्टौँ लाइन बसेपछि मात्रै केही उपभोक्ताले सिलिन्डर पाउने अवस्था रहेको छ।
उपभोक्ताले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो कि भन्ने आशंका व्यक्त गर्दै नियमित आपूर्ति सुनिश्चित गर्न र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
यता, उपभोक्ता हित संरक्षण कार्यालयका निर्देशक देविलाल सापकोटाले अनुगमनका क्रममा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर संकलन र खपत गर्ने प्रवृत्तिका कारण पनि समस्या देखिएको बताउनुभयो।
एकै व्यक्तिले धेरै सिलिन्डर प्रयोग वा मौज्दात गर्दा अन्य उपभोक्ता ग्यासबाट वञ्चित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ।
यस्तै, नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका सहायक प्रबन्धक राजकुमार केएमले सुर्खेतमा मासिक करिब २६ हजार सिलिन्डर ग्यासको माग भए पनि हाल ३४ हजार सिलिन्डर वितरण भइरहेको जानकारी दिनुभयो।
मागभन्दा बढी ग्यास आपूर्ति हुँदाहुँदै पनि अत्यधिक खरिद, अनावश्यक मौज्दात र वितरण व्यवस्थापनका कारण अभाव देखिएको उहाँको भनाइ छ।
आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उहाँले सबै उपभोक्तासँग आग्रह गर्नुभएको छ।
उपभोक्ताले प्रभावकारी अनुगमन गर्दै सहज र समान रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार ०७:१९