सुर्खेती सर्जक धर्मराज गिरीको नयाँ तीज कोशेली ‘झरीझैं आँसु बर्षिन्छ’ सार्वजनिक भएको छ। गिरीको शब्द तथा लयमा तयार भएको गीत उहाँकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा चर्चित गायिका टीका पुनको स्वर रहेको छ भने अभिनयमा प्रकृया थापा, दृप्ती शर्मा र कम्पना सिंह देखिएका छन्। गीतको कोरियोग्राफी चन्द्र मन्दिरले गर्नुभएको हो भने निर्देशन निर्मल प्याकुरेलले गर्नुभएको छ।
गीतको भिडियोमा सुर्खेतसहित कर्णाली क्षेत्रको मौलिक संस्कृति, भेषभूषा र तीज पर्वको परम्परालाई प्राथमिकता दिइएको छ। स्थानीय पहिचान झल्किने दृश्य र प्रस्तुतीमार्फत कर्णालीको सांस्कृतिक सम्पदालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य राखिएको सर्जक गिरीले बताउनुभएको छ।
धर्मराज गिरीले यसअघि पनि तीज पर्वलाई लक्षित गर्दै ‘हो मेरो साडी मैदानै लर्काउने’, ‘युकेको शहरमा किनेको साडी’, ‘जुरेली चरिले खायो बरिलै’, ‘काँक्रीको अचार’, ‘टल्कियो चोलीमा सितारा’ लगायतका मौलिक तीज गीत सार्वजनिक गरिसक्नुभएको छ। ती गीतले दर्शक–श्रोतामाझ राम्रो लोकप्रियता कमाएका थिए।
यसपटक सार्वजनिक गरिएको ‘झरीझैं आँसु बर्षिन्छ’ बोलको गीतले पनि मौलिकता, शब्द, संगीत र प्रस्तुतीका कारण तीज मनाउने नेपाली दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। मौलिक लोकसंस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ गिरीले हरेक वर्ष नयाँ तीज कोशेली प्रस्तुत गर्दै आउनुभएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार १८:३२