सुर्खेत, साउन १५ — नेपाली मौलिकता, चेली–माइतीबीचको आत्मीय सम्बन्ध र तीज पर्वको सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तीज गीत “माइतीको दैलो बरिलै” आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
पछिल्ला वर्षहरूमा आधुनिक प्रस्तुतिको प्रभाव बढ्दै गइरहेका बेला उक्त गीतले परम्परागत तीजको मौलिक भाका, नेपाली लोकलय तथा सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्ने प्रयास गरेको गीतका निर्माता भुवन खरालले बताएका छन्।
गीतमा चेलीको माइतीप्रतिको माया, बाल्यकालका सम्झनाहरू, माइतीघरको आत्मीय वातावरण, पारिवारिक सम्बन्ध तथा तीज पर्वको सामाजिक–सांस्कृतिक पक्षलाई भावनात्मक रूपमा चित्रण गरिएको छ।
निर्माण पक्षका अनुसार शब्द चयन, भाव अभिव्यक्ति, लोकलयमा आधारित संगीत संयोजन, मौलिक गायन शैली, परम्परागत वाद्यवादनको प्रयोगदेखि लिएर छायाङ्कन, सम्पादन, निर्देशन, पहिरन, मेकअप, लोकेसन छनोट र कोरियोग्राफीसम्म नेपालीपन झल्किने गरी विशेष ध्यान दिइएको छ।
गीतकार भानुभक्त रिजालका अनुसार भिडियोमा ग्रामीण परिवेश, मौलिक पहिरन, तीजका परम्परागत गतिविधि तथा नेपाली सांस्कृतिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
गीत निर्माणमा संलग्न सर्जक, कलाकार तथा प्राविधिक टोलीको सामूहिक मेहनत र सिर्जनात्मक समर्पणका कारण गीत उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ। निर्माण पक्षले सहयोगी, शुभचिन्तक तथा दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै गीत हेर्न, सुन्न, प्रतिक्रिया दिन तथा साझा गरी नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा साथ दिन आग्रह गरेको छ।
साथै, आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने यस्ता सिर्जनाहरू निरन्तर ल्याइने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार ०९:००