भैरव देउता धार्मिक समाजले वडिमालिका डोली यात्रा आयोजना गर्ने भएको छ। समाजले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी भदौ ७ गतेदेखि वडिमालिका डोली यात्रा सञ्चालन गर्ने जानकारी दिएको हो।
समाजका अनुसार सुर्खेतबाट जयन्ता मुण्डेश्वरी देवीको डोलीसहित शोभायात्रा प्रारम्भ गरिनेछ। उक्त यात्रा दैलेखस्थित ज्वाला पञ्चकोशी मार्ग हुँदै कालिकोटको खुलालु, जितेगाड, सानीगाडलगायत क्षेत्र पार गर्दै प्राचीन धार्मिक मार्गलाई पुनः जीवन्त बनाउने उद्देश्यसहित अघि बढाइने जनाइएको छ।
समाजले यस यात्रालाई धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोड्दै आएको छ। महान पुण्य प्राप्त हुने विश्वासका साथ सपरिवार सहभागी हुन इच्छुक श्रद्धालु भक्तजनहरूलाई यात्रामा सहभागी हुन आह्वान गरिएको छ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर नीलकण्ठ खनालले समेत डोली यात्रामा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै यस्तो धार्मिक यात्राले क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए। उनले सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गरे।
समाजका अनुसार डोली यात्राले वडिमालिका धार्मिक पर्यटनका लागि नयाँ मार्गको पहिचान र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यात्राको तय गरिएको मार्ग यस प्रकार रहेको छ :
१) भाद्र ५ गते – भैरवस्थान (देउखल) बाट प्रस्थान गरी राकम कर्णाली हुँदै रास्कोट नगरपालिका–८ स्थित बडिमालिका मन्दिरसम्म।
२) भाद्र ६ गते – बडिमालिका माताको ऐतिहासिक सरकारी पूजा पश्चात् मल्यागिरी पाटन (बज्रेश्वरी माता)।
३) भाद्र ७ गते – मल्यागिरी पाटनदेखि क्षेत्रडी धाम (पाटन)।
४) भाद्र ८ गते – क्षेत्रडी धामदेखि कैलाशगाड (नाच्ने थैली) सम्म।
५) भाद्र ९ गते – कैलाशगाडदेखि त्रिवेणी धाम (पाटन)।
६) भाद्र १० गते – त्रिवेणी धामदेखि बडिमालिका मन्दिर।
७) भाद्र ११ गते – बडिमालिका मन्दिरमा बिहान ६ बजेदेखि १२ बजेसम्म सरकारी पूजा, त्यसपछि त्रिवेणी धाम फर्कने।
८) भाद्र १२ गते – जनैपूर्णिमा तथा रक्षाबन्धन त्रिवेणी धाममा भव्य रूपमा मनाई पुनः यात्रा गर्दै त्रिवेणी–रास्कोट हुँदै प्राचीन मार्गको पुनर्जीवन।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार २१:२१