वीरेन्द्रनगरमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले सुझाव दिएका छन् । मुख्यगरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने उनीहरुको सुझाव छ । नगरपालिकाका अन्तर्गतका वडा नं १४, १५ र १६ मा हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकको गुनासो छ ।
वीरेन्द्रनगरका यी वडाहरु भौगोलिक रुपमा विकट छन् । अर्थात यी वडामा हाल सडकको सुविधा कमजोर छ । यहीकारण पनि एम्बुलेन्स सेवा प्रभावकारी हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । भौगोलिक विकटता र सडक सुविधा नहुँदा गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरेन्द्रनगर–१६ निवासी कृष्णा ढकालले सुनाइन् । उनले भनिन्, ‘यहाँको भूगोल विकट छ, सडक पनि कच्ची छन् । एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी छ, हामीले गर्भवतीलाई गाडीमा राखेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।’
स्थानीय सानीलेख स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध छ । तर जटिल अवस्थाका गर्भवती र सुत्केरी हुन नसक्ने अवस्थामा भने प्रदेश अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा भने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा पाउन कठिन हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । उनीहरुका अनुसार बाहिर लैजानुपर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको अभावमा अटो र गाडीमा राखेर लैजानुपर्ने बाध्यता छ । यहीकारण पनि अब नगरपालिकाले नगरको उत्तरी क्षेत्रमा रहेका बस्तीमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने स्थानीयको आग्रह छ ।
वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मिडिया सेन्टर सुर्खेतको सहजिकरणमा सम्पन्न भएको स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षणमा नागरिकले यस्तो सुझाव दिएका छन् । वीरेन्द्रनगर १५ मा रहेको रतु स्वास्थ्य चौकी पारेगाउँमा सम्पन्न सामाजिक परीक्षणमा सहभागि नागरिकले पनि एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सुझाव दिए । सडक राम्रो नहुँदा एम्बुलेन्स नै नआउने भएकाले गर्भवती र सुत्केरीलाई समस्या भइरहेको यहाँका बासिन्दाको गुनासो छ । स्थानीय भूमीसरा राम्जालीले भनिन्, ‘गाउँमा आउने सडक नै गतिलो छैन, भनेको बेलामा एम्बुलेन्स नै आउँदैनन् । एम्बुलेन्स सेवा नहुँदा गर्भवतीलाई अस्पतालसम्म बोकेर लैजानुपर्ने बाध्यता छ, अब नगर सरकारले यहाँका आमाहरुको ज्यान जोगाउन एम्बुलेन्स सेवा उपलब्ध गराओस् ।’
भौगोलिक रुपमा विकट मानिने वडाका नागरिकले मात्र होइन, सुगम मानिने वडामा पनि समयमै एम्बुलेन्स नआउने गरेको नागरिकको गुनासो छ । आर्थिक बर्ष २०८२÷०८३ को सामाजिक परीक्षण गरिएका अधिकांश स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने सेवाग्राहीले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन सुझाव दिए । साथै उनीहरुले समयमै एम्बुलेन्स नै नआउने र एम्बुलेन्स चालकले फोन नै नउठाउने समस्या रहेको सुनाए । यसका लागि उनीहरुले नगरपालिकाको नेतृत्वले तत्काल एम्बुलेन्स सेवालाई सहज, सरल र प्रभावकारी बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलवार ०७:४५