काबुल अफगानिस्तान, १० साउन । अफगानिस्तानमा भएको द्वन्द्वका कारण प्रभावित सामान्य नागरिकको सङ्ख्या अहिलेसम्मकै उच्च भएको संयुक्त राष्ट्रसङघले सोमबार जनाएको छ ।
सन् २०१६ को पहिलो छ महिनामा अफगानिस्तानमा भएको द्वन्द्वका कारण मृत्यु हुने गैर सैनिकको सङ्ख्या यस अघिका वर्षको तुलनामा उच्च रहेको संयुक्त राष्ट्रसङ्घको अफगानिस्तानस्थित सहयोग मिसन युएनएएमए ले जनाएको छ ।
सन् २०१६ को जनवरीदेखि जुनसम्मको समयमा अफगानिस्तानमा द्वन्द्वका कारण एक हजार ६०१ गैर सैनिकको मृत्यु भएको छ भने तीन हजार ५६५ जना घाइते भएका युएनएएमएले सोमबार जारी विज्ञप्तिमा जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २००९ देखि आधिकारिक रुपमा द्वन्द्वपिडितको तथ्याङ्क सङ्कलन गर्न सुरु गरको थियो र यसबर्षको तथ्याङ्कले पिडितको सन् २००९पछिको सबैभन्दा उच्च दर देखाएको छ । सो अवधिमा एक हजार ५०९ बालबालिका द्वन्द्वबाट पीडित भएका बताउँदै संयुक्त राष्ट्रसङ्घले यसलाई खतरायुक्त र लाजमर्दो अवस्था भनी अफगानिस्तानलाई सजक गराएकोे छ ।
पछिल्लो तथ्याङ्कले अफगानिस्तानमा इस्लामिक स्टेट ९आइएस० समूहको बढ्दो गतिविधि र तालिवानको राष्ट्रव्यापी विद्रोहको प्रभावमा कमी नआएकोे बताइएको छ ।
अफगानिस्तानले पछिल्लो समय मुलुकमा हिंसात्मक गतिविधिमा कमी आएको बताए पनि राष्ट्र सङ्घको तथ्याङ्क सरकारको दाबीको विपरित देखिएको जनाउँदै अफगान नागरिकको समस्याप्रति विश्व समुदायको ध्यानाकर्षण गरेको छ । रासस/एएफपी