६९औँ राष्ट्रिय सहकारी दिवस आज सुर्खेत सहित देशभर विविध कार्यक्रमका साथ मनाइएको छ।“उद्यमशीलता र पारदर्शिता: सहकारी” भन्ने नारासहित वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै शुभहोटमा पुगेर विशेष कार्यक्रममा परिणत भएको थियो। र्यालीमा जिल्लाभरका सहकारी संस्थाका सदस्यहरूले ब्यानर, पम्प्लेट र बाजागाजासहित सहभागी भई सहकारीप्रति जनचेतना अभिवृद्धि गरेका थिए।
कार्यक्रममा सहभागीहरूले सहकारी केवल ऋण प्रवाह र ब्याज असुलीमा सीमित नभई किसानसँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले कृषि उपजको बजारीकरणमार्फत अर्थतन्त्र सुदृढ बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। तीन खम्बे आर्थिक नीतिअन्तर्गत सहकारी पनि एक महत्वपूर्ण आधार भएकाले यसको सुदृढीकरण अनिवार्य रहेको उनीहरूको भनाइ थियो।
सहकारी अभियन्ताहरूले किसानका उत्पादनलाई बजारसम्म पु¥याउने माध्यम सहकारी नै बन्नुपर्ने र त्यसका लागि सरकारी सहयोग आवश्यक रहेको बताए। साथै, विभिन्न बहानामा सहकारीलाई कमजोर बनाउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै ऋण लिएर तिर्ने बेलामा मिनाहाको माग गरी सहकारीलाई बदनाम गर्ने प्रवृत्तिप्रति सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगीले सहकारीहरू अब बचत तथा ऋणमा मात्र सीमित नरही उत्पादन, प्रशोधन र बजारीकरणसँग जोडिने व्यवसायिक संस्थाका रूपमा विकास हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीको दिगोपनका लागि पारदर्शिता, अनुशासन र सदस्यकेन्द्रित सोच अपरिहार्य रहेको बताउनुभयो।
त्यस्तै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका चन्द्रप्रसाद थानीले सहकारी नाफामुखी मात्र नभई सेवामुखी हुनुपर्ने बताउनुभयो। देशको ठूलो जनसंख्या सहकारीमा आबद्ध रहेको उल्लेख गर्दै उनीहरूको आर्थिक समृद्धिका लागि सहकारीले प्रभावकारी कर्जा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो।
यसैबीच कर्णाली प्रदेश रजिष्टारको कार्यालयका प्रमुख खिमानन्द आचार्यले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र विश्वासिलो बनाउन कडा नियमन र प्रभावकारी अनुगमन आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारीमा देखिएका विकृति र विसंगति हटाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै सदस्यहरूको बचत सुरक्षित राख्नु राज्य र सहकारी दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। साथै, सहकारीहरूलाई कानुनसम्मत र व्यवस्थित ढंगले सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
यस्तै जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाशकुमार तिमिल्सेनाले सहकारीलाई संस्थागत रूपमा सबल र व्यवसायिक बनाउने दिशामा संघ निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो। सहकारीलाई बचत सङ्कलनमै सीमित नराखी उत्पादनमुखी र आम्दानीमुखी कार्यक्रममा रूपान्तरण गर्न तालिम, परामर्श र समन्वयमार्फत सहयोग भइरहेको उहाँले उल्लेख गर्नुभयो।


प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार १९:२२