सुर्खेत–२ मा नेपाली कांग्रेसका नारायण कोइराला, एमालेका कुलमणि देवकोटा, नेकपाका झकबहादुर मल्ल, रास्वपाका रमेशकुमार सापकोटाबीच मुख्य चुनावी प्रतिस्पर्धा देखिएको छ । उनीहरू सबै पहिलोपल्ट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
२०५१ सालदेखिका सबै निर्वाचनमा उम्मेदवार भएका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी गत प्रतिनिधिसभा निर्वाचनमा ३४ हजार ६ सय २५ मत प्राप्त गरी विजयी भएका थिए । उनले यही क्षेत्रबाट २०५६ र २०६४ सालको निर्वाचनसमेत जिते । तर यसपल्ट स्वास्थ्य समस्याका कारण आफू उम्मेदवारीबाट पछि हटेपछि उनीसँग लामो समय निकट रहेका नारायण कोइराला उम्मेदवार छन् ।
रेडियो भेरीका अध्यक्षसमेत रहेका कोइराला नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति हुन् भने सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत बनिसकेका छन् । वीरेन्द्रनगर–९ का स्थायी बासिन्दा कोइरालाले नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए । सरल स्वभाव, बौद्धिक छवि र इमान्दारी उनको जितको आधार भएको कांग्रेस जिल्ला सचिव देवकुमार सुवेदीले बताए । त्यसो त कांग्रेस युवा अनुहार, बलियो संगठन र आन्तरिक एकतालाई देखाउँदै जित निकाल्ने दाउमा छ ।
उनलाई चुनौती दिइरहेका छन् एमालेका जिल्ला अध्यक्ष कुलमणि देवकोटाले । उनी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिकामा छन् । एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामले जनता आफ्नो पार्टीसँग निकट भएको र ग्रामीण क्षेत्रसम्म आफूहरूको संगठन बलियो भएकाले सजिलै जित हात पार्ने उनले दाबी गरे ।
अझै पनि कर्णालीको आवाज संघीय सरकारसम्म पुग्न सकेको छैन, त्यसमा पनि विकास निर्माण र समृद्धिको यात्रा अधुरो छ,’ उनले भने, ‘युवालाई रोजगारीमा जोड्ने, कर्णालीमैत्री कानुन निर्माणमा जोड दिने र प्रदेश राजधानी वीरेन्द्रनगरलाई नमुना सहरको रूपमा विकास गर्ने मेरो योजना छ ।’
पहिलोपल्ट नै चुनाव लड्न लागेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार झकबहादुर मल्ल पूर्वमाओवादी जिल्ला इञ्चार्ज हुन् । नेकपा केन्द्रीय सदस्य उनी सशस्त्र द्वन्द्वको समयमा सुर्खेतको ‘जेलब्रेक’ को नेतृत्व गरेका थिए । पूर्वलडाकु कमाण्डरसमेत रहेका उनले सशस्त्र द्वन्द्वको बेला श्रीमती गुमाएका थिए । ‘कर्णाली सशस्त्र विद्रोहको आधार इलाका पनि हो, यहाँ द्वन्द्वप्रभावित, घाइते, अपांग र सहिद परिवारका धेरै पीडाहरू छन्, कर्णालीका दलित, महिला, जनजातीलाई राज्यको मूलप्रवाहमा जोड्न सकिएको छैन,’ उनले भने, ‘असन्तुलित विकासका कारण जनता आधारभूत आवश्यक्ताबाट वञ्चित छन्, यी सबै विषयलाई हल गर्न मेरो उम्मेदवारी हो ।’
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला अध्यक्ष रमेश सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । यातायात व्यवसायीसमेत रहेका उनी काँक्रेविहार यातायात प्रालिका अध्यक्ष छन् भने रास्वपा आबद्ध हुनुअघि कांग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिव थिए । पुराना दलप्रति आम जनतामा देखिएको असन्तुष्टि र पार्टीको राष्ट्रिय एजेण्डा जनताको पक्षमा भएकाले आफू विजयी हुने उनले दाबी गरे ।
‘मतदाता परिवर्तन र सक्षम उम्मेदवार छनोटको मुडमा छन्,’ उनले भने, ‘मुख्यरूपमा मैले सुशासनको मुद्दालाई जोड दिएको छु, पूर्वाधार र विकास निर्माण पनि मेरा एजेण्डा हुन् ।’
सुर्खेत–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष कविराम पुरीसहित १७ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरू घरदैलो, कार्यकर्ता भेटघाटसहित चुनावी रणनीति बनाउन जुटेका छन् । प्रमुख दलहरूको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम र अहिलेको चुनावी माहौललाई हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको नागरिक अगुवा दुर्गाप्रसाद सापकोटा बताउँछन् ।
‘प्रदेश राजधानी पनि यही क्षेत्रमा भएकाले यहाँ अन्यत्रभन्दा मतदाता अलि सचेत छन्, त्यसैले यहाँ पार्टीभन्दा व्यक्तिको क्षमता र योग्यता हेरिन्छ,’ उनले भने, ‘त्यसमा पनि विशेष परिस्थिति र फरक म्यान्डेडसहितको निर्वाचन भएकाले कसको पक्षमा नजिता आउँछ भन्न सकिन्न ।’
मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले पार्टीहरूका एजेण्डा र उम्मेदवारहरूको क्षमता हेरेर सबैभन्दा सक्षम र योग्य व्यक्तिलाई विजयी बनाउनुपर्ने बताए । ‘यसअघिका जनप्रतिनिधि मतदाताप्रति जवाफदेही नहुँदा जनअपेक्षा बढेका बढ्यै छन्,’ उनले भने, ‘त्यसमा पनि जेनजी आन्दोलनका मुद्दाहरू संस्थागत गर्नुपर्ने आवश्यक्ता छ, त्यसैले मतदाताहरू थप सचेत भएर मतदान गर्न जरुरी छ ।’
संघीय पुनर्संरचनाअघिसम्म ३ वटा निर्वाचन क्षेत्र रहेको ३ नम्बर क्षेत्र पनि २ मै गाभिएको छ । वीरेन्द्रनगर नगरपालिकाकाका १४ वडा, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका क्षेत्र नं २ मा पर्छन् । गत प्रदेशसभा निर्वाचनमा क्षेत्र नं २(१) बाट एमालेका यामलाल कँडेल १८ हजार ५ सय ६१ र क्षेत्र नं २ (२) मा नेकपाका बिन्दमान विष्ट १३ हजार ९ सय ९ मतसहित विजयी भएका थिए ।२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साबिक माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन थियो भने एमाले एक्लै लडेको थियो । बराहताल र पञ्चपुरीमा नेपाली कांग्रेस, वीरेन्द्रनगरमा एमाले, चौकुने गाउँपालिका अध्यक्षमा नेकपा र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । याे समाचार कान्तिपुर दैनिकबार साभारगरिएकाे हाे।