कर्णाली प्रदेश कै केन्द्र रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गतवर्ष भन्दा बढाएर आगामी आर्थिक बर्ष कालागि चार अर्ब ३८ करोड २७ लाख रुपैयाँको बजेट ल्याएको छ। नगर उपप्रमुख निलकण्ठ खनालले नगरपालिकाको १७ औं नगर सभामा बजेट प्रस्तुत गर्दै विकास तर्फ दुई अर्ब ७८ करोड ८४ लाख विनियोजन गरेको बताउनु भयो।
यसैगरी चालुतर्फ एक अर्ब ५९ करोड ४२ लाख बिनियोजन गरिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ र०८३ मा कर प्रणालीमा सुधार गरी ५१ करोड ६३ लाख संकलन गरिने लक्ष्य लिइएको छ ।
करको दायर र क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिईने बताईएको छ प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तीन करोड ३४ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान ३७ करोड ६१ लाख ३६ हजार रहेको छ ।
घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन १५ करोड, नगरपालिकाको आन्तरिक आय ५१ करोड ६३ लाख, आर्थिक बर्ष २०८१/०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख र सामाजिक सुरक्षा अनुदान ४० करोड आयको अनुमान गरेको उहाँको भनाई छ ।
यसैगरी उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरीको पानी लिफ्टिङ्ग आयोजना अगाडि वढाउन संघीय तथा प्रदेश सरकार र विकास साझेदारहरुसंग सहकार्य गर्न ११ करोड ६० लाख म्याचिङ फण्डको ब्यवस्था गरिएको छ ।
यस्तै खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधारकोलागि वडास्तरीय कार्यक्रम मार्फत यथोचित बजेट विनियोजन गरिएको जनाएको छ।
चालू आर्थिक वर्षमा सुरु भएका राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधार घण्टाघर पार्क लगाएत अन्य पार्क एवं खुल्ला क्षेत्र सजावट तथा पार्किड स्थल निर्माणका आयोजनाका साथै विभिन्न वडामा संचालित नगर महत्वका आयोजनाहरुलाई क्रमागतमा राख्दै क्रमागत आयोजना तर्फ २२ करोड ३४ लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरी श्रोतमा नै फोहरको वर्गीकरण गर्दे वातावरणमैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्न र ४ करोड ५० लाख विनियोजन गरिएको उपप्रमुखन खनाले बताउनु भयो।
यसैगरी नगरपालिकालाई शैक्षिक हबको गन्तव्यका रुपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षामा सवै बालबालिकाहरुको पहुँच सुनिश्चित गर्न सशर्त बाहेक ५ करोड ५९ लाख रुपैयाँ छुट्याईएको छ।
चालु आर्थिक वर्ष सकिन तीन हप्ता मात्रै बाँकी रहेका बेला नगरेको बजेत कार्यानवयन भने निकै कमजोर रहेको छ। अहिले सम्म कूल खर्च ५७ प्रतिशत भएकोमा विकासतर्फ जम्मा ३१ प्रतिशत मात्रै खर्च विवरण खनालले पेश गर्नु भएको छ।
मंगलगढी चोकमा आकाशे पुल निर्माण
वीरेन्द्रनगरले रत्न राजमार्गमा भइरहेका सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न मंगलगढी चोकमा आकाशे पुल निर्माण गर्ने नीति लिएको छ । यसका साथै एरिचोक र एअरपोर्ट चोकको विस्तार कार्यलाई समेत निरन्तरता दिइने योजना छ ।
सरकारले सडक सुरक्षाका लागि महत्वपूर्ण चोक र मार्गहरूको पूर्वाधार सुदृढीकरणमा प्राथमिकता दिएको नगर प्रमुख मोहोनमाया ढकालले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ । आकाशे पुल निर्माण पश्चात पैदल यात्रीहरूका लागि सुरक्षित आवतजावतको सुविधा हुने विश्वास लिइएको छ ।
यस्तै, वीरेन्द्रनगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले आगामी १० वर्षका लागि शैक्षिक रणनीति निर्माण गरेको छ । त्यही रणनीतिको आधारमा बजेट तथा कार्यक्रमहरू क्रमशः तर्जुमा गरी कार्यान्वयन गरिने नगर प्रमुख ढकालको भनाई छ ।
नगरपालिकाले ‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।
साथै सामुदायिक विद्यालयहरूलाई डिजिटलाइज्ड बनाउने कार्यलाई पनि उच्च प्राथमिकता दिइएको नगर प्रमुख ढकालको भनाई छ ।
चालु वर्षलाई ‘राजस्व सुधार वर्ष’का रूपमा अघि बढाउने
नगरपालिकाले चालु आर्थिक वर्षलाई ‘राजस्व सुधार वर्ष’का रूपमा अघि बढाउने भएको छ ।
हाल कार्यान्वयनमा रहेका स्वीकृत कर र दस्तुरलाई यथावत राख्दै नगरलाई आत्मनिर्भर तथा आर्थिक रूपमा सबल बनाउने लक्ष्य लिइएको नगर प्रमुख ढकालले बताउनुभयो ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नगरले करको दायरा पूरा गरिसकेको र अबको योजनामा नयाँ कर क्षेत्रको पहिचान गर्दै करको दायरा विस्तार गरिने ढकालले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ । साथै, करदाताका विवरणहरू डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रत्येक करदातालाई कर प्रणालीमा समेट्ने कार्य अघि बढाइने जनाइएको छ ।
यस्तै, महिला दलित तथा अपाङ्गत भएका व्यक्तीद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित उद्यम तथा व्यवसायको व्यवसाय शुल्कमा २० प्रतिशत छुट दिने नीति लिइएको नगर प्रमुख ढकालले बताउनुभयो ।
यसैबिच, नगरपालिकाको निर्माणाधीन नयाँ प्रशासनिक भवन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य नीति कार्यक्रममा लिएको छ । निर्माणाधिन भवनबाट प्रविधिमैत्री र एकीकृत सेवा प्रदान गरिने नगर प्रमुख ढकालले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा उल्लेख छ ।
भेरी लिफ्टिङ आयोजना दुई वर्षभित्र सम्पन्न गरिने, नयाँ वारिङ खन्ने कार्यमा कडाइ
नगरपालिकाले ल्याएको नीति कार्यक्रममा भेरी लिफ्टिङ खानेपानी आयोजना अब तीव्र गतिमा निर्माण कार्य अघि बढाइने जनाइएको छ । सरकारका अनुसार आयोजना सम्झौता अनुसारको दुई वर्षभित्र सम्पन्न गरिनेछ ।
खानेपानीको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न वैकल्पिक स्रोतका रूपमा रहेको डिप बोरिङ प्रणालीलाई पनि सुदृढ गरिने नगर प्रमुख ढकालले बताउनुभएको छ । यस अन्तर्गत डिप बोरिङमा रिजभ्र्वायर ट्यांकी निर्माण गरिने र अनियन्त्रित रुपमा हुने नयाँ बोरिङ खन्ने कार्यलाई निरुत्साहित गरिने जनाइएको छ ।
तर, स्थानीय आवश्यकताको पहिचानसहित सिफारिस भएमा मात्र नयाँ बोरिङ खन्ने कार्यलाई अनुमति दिइने नगरपालिकाको योजना छ ।
वीरेन्द्रनगरको कृषि, सिँचाई र युवा रोजगारीमा केन्द्रित नवीन नीति
’वीरेन्द्रनगरको अठोट पकेट क्षेत्रमा जोड’ भन्ने नाराका साथ वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा बाली पकेट क्षेत्रको निर्माण तथा विस्तारलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रमैत्री नीति ल्याएको छ ।
नगरपालिकाले उत्पादन अनुकूल बाली वस्तुहरूलाई पहिचान गरी तिनीहरूलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ । यसले कृषकको आम्दानी वृद्धि गर्नुका साथै स्थानिय बजारमा उत्पादनको स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ ।
’सिंचाईमा लगानी कृषकलाई आम्दानी’ नारासहित सिँचाई पूर्वाधारलाई समेत जोड दिइएको छ । सिंचाई सुविधा नपुगेका क्षेत्रहरूमा साना सिँचाई कार्यक्रम सञ्चालन गरी सिंचित क्षेत्रफल विस्तार गर्ने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ ।
युवा रोजगारी र प्रविधिलाई जोड्दै ’डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर’ भन्ने नाराका साथ सूचना प्रविधि र उद्यमशिलतालाई एकैसाथ प्रवद्र्धन गरिने छ । यस अन्तर्गत डिजिटल प्लेटफर्म, फ्रीलान्सिङ तथा नविनतम प्रविधिमा आधारित तालिम तथा रोजगारी सिर्जना गरिने कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
त्यस्तै, ’युवा जागौं, उद्यम बढाऔं’ भन्ने नारासहित युवामैत्री उद्यमशिलता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने जनाइएको छ । नगरपालिकाले युवालाई स्वरोजगारमुखी बनाउन अनुदान, सीप विकास तालिम तथा स्टार्टअप अनुदान जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
यस्तै ‘हरित सहर बनाउने रहर, सफा सुन्दर हाम्रो वीरेन्द्रनगर’ नारासहित वीरेन्द्रनगर नगरपालिकाले सडक सौन्दर्यकरणको अभियान अघि सारेको छ ।
कालोपत्रे भइसकेका सडक छेउछाउमा बहुउपयोगी तथा सजावटी फूल र विरुवा रोपेर संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रम सफल बनाउन संघीय, प्रदेश सरकार, विकास साझेदार, स्थानीय संघ–संस्था र टोल विकास समितिसँग सहकार्य गरिने नगरपालिकाले जनाएको छ ।
प्रमुख कार्यक्रम र बजेट
– भेरी पम्पिङ्ग आयोजनाका लागि ११ करोड ६० लाख म्याचिङ फण्ड व्यवस्था
- शहरी सौन्दर्य तथा पूर्वाधार विकासका लागि २२ करोड ३४ लाख
- नगर गौरव आयोजना अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५० लाख बजेट
- शिक्षा क्षेत्रमा ५ करोड ५९ लाख, स्वास्थ्यमा १ करोड ५९ लाख र
महिला बालबालिका अस्पतालका लागि ३७ लाख ५० हजार विनियोजन
- कृषि तथा पशुपालन आत्मनिर्भरतातर्फ १ करोड ३० लाख बजेट
- फोहरमैला व्यवस्थापन र हरियाली प्रवर्धनमा ४ करोड ५० लाखको व्यवस्था
- युवा सशक्तिकरण कार्यक्रमका लागि ६० लाख, खेलकुद क्षेत्रका लागि ६१ लाख २५ हजार विनियोजन
बजेट खर्चका लागि स्रोत व्यवस्थापन
- संघीय सरकारबाट सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख
- वित्तीय समानीकरण अनुदान २४ करोड २४ लाख प्रदेश सरकारको अनुदान ४० करोड ९५ लाख (सशर्त र समानीकरण सहित)
- सामाजिक सुरक्षा अनुदान ४० करोड
- गत वर्षको मौज्दात ४१ करोड २७ लाख
प्राथमिकता
शिक्षा, स्वास्थ्य, युवा विकास, महिला सहभागिता, वातावरण संरक्षण, पूर्वाधार विस्तार, डिजिटल सुशासन, विपद् जोखिम न्यूनीकरण र सामाजिक समावेशिता बजेटका मूल आधार रहेका छन् । विगतका योजना र उपलब्धिलाई संस्थागत गर्दै अबको कार्यान्वयनमा सबैको सक्रिय सहभागिताकाे अपेक्षा नगरपालिकाले गरेकाे छ । यस्तै बजेटसँगै गैरसरकारी संस्था तथा विकास साझेदारमार्फत ४० करोड रुपैयाँ बराबरको कार्यक्रम पनि स्वीकृतिका लागि प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: १० असार २०८२, मंगलवार १७:३१