वीरेन्द्रनगर नगरपालिका–८ मा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, सेवा, सुविधा र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच साझा समझदारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर ८ को आर्थिक सहयोग तथा कोशिश सुर्खेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा टोल विकास समितिका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, जनप्रतिनिधिहरू, सामुदायिक तथा संस्थागत विद्यालयका सामाजिक विषयका शिक्षकहरू, युवा र बाल क्लबका प्रतिनिधि, अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकसहित ६४ जना सहभागी थिए। कार्यक्रमलाई चार सत्रमा बाँडेर सञ्चालन गरिएको थियो।
कार्यक्रमको पहिलो सत्रमा प्रशिक्षक जितलाल ढकालले अपाङ्गताको अवधारणा, प्रकार र अपाङ्गता परिचयपत्र सम्बन्धी व्यवस्था बारे जानकारी दिनुभयो।
कोशिशका परियोजना अधिकृत सूर्य प्रसाद भट्टराईले मनोसामाजिक अपाङ्गता तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्य तथा स्थानीय तहले उपलब्ध गराउने सेवा सुविधाहरूका साथै अपाङ्गता सम्बन्धी नीति कार्यक्रमबारे जानकारी गराउनु भयो।
त्यस्तै, अपाङ्गता महिला अधिकारकर्मी तथा सशक्त महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत कोशिशमा कार्यरत रत्न राणाले स्थानीय तहका सरोकारवालाहरूले निभाउनु पर्ने भूमिकाबारे समूहगत छलफल गराउनु भयो।
कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक वडा अध्यक्ष नेत्रबहादुर ठाडाले अपाङ्गता भएका व्यक्तिहरूको लागि सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले वडाले यस्ता कार्यक्रमहरूमा सहजीकरण गर्ने र सबै सरोकारवालालाई सहकार्यका लागि आग्रह गर्नुभयो।
वडा सदस्य सुमित्रा कोइरालाले अपाङ्गता भएका व्यक्तिहरूप्रति स्थानीय तह सकारात्मक रहेको भन्दै, उनीहरू आफैं सक्रिय भएर अगाडि आए मात्र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रम अध्यक्ष खैरन निशाको अध्यक्षता तथा कोशिश सुर्खेतका कोषाध्यक्ष शान्ता शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको हकहितमा स्थानीय तह र समुदायले खेलेको भूमिकालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ८ असार २०८२, आईतवार १९:१३