सुर्खेत, असार ७ – डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउने उद्देश्यसहित नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा ग्रामीण भेगहरूमा अत्याधुनिक फाइबर इन्टरनेट सेवा (FTTH सेवा) विस्तार गर्दै आएको छ। सञ्चारको पहुँचले मात्र होइन, त्यसको गुणस्तरले पनि समावेशी विकास सम्भव हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै कम्पनीले पछिल्ला दिनहरूमा सेवा विस्तारलाई थप प्राथमिकता दिएको हो।
नेपाल टेलिकमको कर्णाली प्रदेश निर्देशनालयले हालसालै रुकुम पश्चिमको खारा, बाफिकोट, सिम्ली, जाजरकोटको चौरजहारी, कुदु बजार, शिवालय गाउँपालिका, सल्यानको लुहाम, संखमुल, सुर्खेतको बड्डिचौर र दैलेखको चुप्रा बजार लगायतका स्थानहरूमा फाइबर प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा विस्तार कार्य सुरु गरेको छ।
खारा र कुदु बजार क्षेत्रमा सेवा वितरण कार्य सुरु भइसकेको छ भने अन्य स्थानहरूमा समेत चालु आर्थिक वर्षको अन्त्यसम्म सेवा प्रारम्भ गरिने योजना छ।
यस सेवामार्फत ग्राहकहरूले एकै साथ उच्च गतिको इन्टरनेट, एनटी टेलिभिजन (NTTV), ल्यान्डलाइन फोन लगायतका सेवाहरूको उपयोग गर्न सक्नेछन्। डिजिटल पहुँचबाट शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रवाह तथा व्यवसाय क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा लिइएको छ। दुर्गम बस्तीहरूमा डिजिटल सेवा पुग्न थालेपछि अब प्रविधिको पहुँच राजधानीमा मात्र सीमित नरहने कम्पनीको भनाइ छ।
साथै, प्रविधिको स्तरोन्नतिको क्रमलाई निरन्तरता दिँदै दैलेख बजारमा रहेको ५१२ क्षमताको फाइबर डिस्ट्रीब्युसन क्याबिनेट (FDC) लाई १०२४ क्षमतामा तथा सल्यानको कपुरकोटमा रहेको २५६ क्षमताको FDC लाई ५१२ क्षमतामा स्तरोन्नति गरिएको छ। यसले ती क्षेत्रमा सेवा क्षमता दोब्बर बन्नेछ।
नेपाल टेलिकमले दुर्गम क्षेत्रका नागरिकलाई पनि डिजिटल सेवाको सहज पहुँच दिलाउने उद्देश्यका साथ भविष्यमा अन्य विकट स्थानहरूमा समेत अत्याधुनिक प्रविधिमार्फत सेवा विस्तार गर्ने योजना अघि सारेको छ। कम्पनीले आफ्ना सामाजिक उत्तरदायित्वहरूलाई आत्मसात गर्दै सूचना प्रविधिको समावेशी पहुँचमार्फत देशको दिगो डिजिटल रूपान्तरणमा निरन्तर योगदान दिइरहने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार १९:१७