असार लागेसँगै देशभर वर्षा सुरु भएको छ । लामो समयसम्म खडेरीबाट गुज्रिएको मध्य तराईमा पनि बुधबार वर्षा भएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम तथा कतिपय क्षेत्रमा भारी वर्षा भए पनि अहिले अत्यधिक वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।
गत २४ घण्टामा डोटी, डडेल्धुरा, कैलाली, नवलपरासी र चितवनमा सय मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा मात्र भए पनि मध्य क्षेत्र र पश्चिममा मध्यमदेखि भारी वर्षा भएको मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले पछिल्लो वर्षाले पोहोरको बर्खाले क्षति गरेको र निर्माणाधीन सडकमा समस्या भएको बताए । ‘देशभर वर्षा हुन थालेको छ । बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रले सहयोग गरिरहेको हो,’ झाले भने, ‘समयमै वर्षा हुँदा रोपाइँ गर्न सजिलो भएको छ । तर, पोहोरको बर्खाले क्षति गरेको र निर्माणाधीन सडकमा भने समस्या निम्त्याइरहेको छ ।’
वर्षासँगै देशका विभिन्न भागमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको कोदारी, लार्चा र कोल्याङ खण्डमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । यस्तै, डोल्पाको चुलेलगाउँ र दार्चुलाको महाकाली नगरपालिकामा समेत सडक अवरुद्ध भएको छ ।
अत्यधिक वर्षाको सम्भावना रहेमा मौसम विज्ञान विभागले पाँच दिनअघि नै बुलेटिन जारी गरेर जोखिमयुक्त स्थानलाई रेडअलर्टमा राख्ने गरेको छ । सरकारले पनि रेडअलर्टमा परेका क्षेत्रमा रात्रिकालीन यातायात गुडाउनमा गत वर्षदेखि नै रोक लगाउने अभ्यास थालिसकेको छ ।
कर्णाली र सुदूरपश्चिममा अझै पुगेन मनसुन
नेपालमा मनसुन प्रवेश गरेको २१ दिन नाघ्दा पनि अझै लुम्बिनीको पश्चिम, कर्णाली र सुदूरपश्चिममा पुगेको छैन । सरदरभन्दा दुई साताअघि १५ जेठमा कोशी प्रदेश प्रवेश गरेको मनसुन २९ जेठमा पश्चिममा गण्डकी र लुम्बिनीको पूर्वी भूभागससम्म पुगेको थियो । तर, त्यसभन्दा पश्चिम क्षेत्रमा पश्चिमी र स्थानीय वायु सक्रिय नै रहेकाले मनसुन अगाडि बढ्न नसकेको मौसमविद् गोविन्द झाले बताए । ‘मनसुनी वायु नपुगे पनि कर्णाली र सुदूरपश्चिममा पानी परिरहेकै छ, त्यहाँ पश्चिमी र स्थानीय वायु सक्रिय छ,’ महाशाखाका मौसमविद् झाले भने, ‘अब केही दिनमा देशभर मनसुन पुग्छ ।’
प्रकाशित मिति: ५ असार २०८२, बिहीबार ०९:०३