कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित टी.बी. शाह स्मृति १६ बर्षमुनिको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ।
२०८२ साल जेठ १९ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा सम्पन्न भएको हो।
प्रतियोगितामा देशका सातैवटा प्रदेशबाट आएका १६ वर्ष मुनिका युवा खेलाडीहरू सहभागी भएका थिए। झण्डै दुई हप्ताको अवधिमा २२ वटा खेल सम्पन्न गरिँदा प्रतियोगिताले सम्पूर्ण नेपालभरका युवा क्रिकेट प्रतिभाहरूलाई आफ्नो क्षमता उजागर गर्ने सुनौलो अवसर प्रदान गरेको छ।
कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको समापन अवसरमा दिनुभएको वक्तव्यमा, यो प्रतियोगिता कर्णालीको खेलकुद क्षेत्रमा मात्र नभई सम्पूर्ण प्रदेशको पहिचानमा नयाँ आयाम थप्न सफल भएको बताउनुभयो।
उहाँले भन्नुभयो,”शुरुमा धेरैलाई शंका थियो, कर्णालीमा यस्तो राष्ट्रिय प्रतियोगिता सम्भव हुन्छ कि हुन्न भन्ने। तर आज हामीले देखायौं सम्भव छ। र सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ।”खड्काका अनुसार प्रतियोगिता सफल हुनु कुनै एक व्यक्तिको प्रयास मात्र नभई सम्पूर्ण सरोकारवालाहरूको संयुक्त योगदान हो।
नेपाल क्रिकेट संघको दूरदर्शी नेतृत्व, आयोजनामा खटिएका प्रदेश संघका पदाधिकारीहरू, स्थानीय प्रशासन, सुरक्षा निकाय, प्रायोजक संस्था, मिडिया, स्वयंसेवक र दर्शकहरू सबैको सक्रियता र समर्पणले प्रतियोगितालाई ऐतिहासिक बनाएको हो।नेपाल क्रिकेट संघका अध्यक्ष, उपाध्यक्ष, सचिव र सम्पूर्ण कार्यकारिणी समितिका सदस्यहरूलाई धन्यवाद दिँदै, खड्काले कर्णाली प्रदेशले आगामी दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न पूर्ण रूपमा तयार रहेको सन्देश दिएको उल्लेख गर्नुभयो।
समापन सन्देशमा उहाँले भन्नुभएको छ यो प्रतियोगिता केवल खेलकुद कार्यक्रम मात्र हैन, कर्णालीको क्षमताको प्रमाण हो। हामीसँग आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र सबैभन्दा ठूलो कुरा — जनता र नेतृत्वमा रहेको असीम ऊर्जा छ।”
उहाँले आगामी दिनहरूमा कर्णालीमा महिला क्रिकेट प्रतियोगिता, टी–२० लिग, उमेर समूहअनुसारका प्रतियोगिता, तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो।
यस प्रतियोगिता मार्फत कर्णालीले राष्ट्रियस्तरको खेलकुद आयोजना गर्न सक्षम रहेको सन्देश दिएको छ। साथै, प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल, अम्पायर, मिडिया प्रतिनिधि र दर्शकहरूले कर्णालीको आतिथ्य, सेवा र व्यवस्थापन क्षमताको खुलेर प्रशंसा गरेका छन्।
सुर्खेतका होटल व्यवसायी, यातायात व्यवसायी, सञ्चारकर्मी, सेवा प्रदायक र स्वयंसेवकहरूद्वारा देखाइएको व्यवहार र सेवा उत्कृष्ट रहेको पनि खड्काले उल्लेख गर्नुभयो।
खेलप्रेमीहरूबीच निकै चर्चा कमाएको यो प्रतियोगिता नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व. तारिणी विक्रम शाह (टी.बी. शाह)को स्मृतिमा आयोजना गरिएको हो। उहाँको सम्मानमा सुरु गरिएको युथ १९ प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिने निर्णय पनि गरिएको छ।
खेलकुदले युवाहरूलाई अवसर दिने, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने, र प्रदेशको पहिचानलाई नयाँ उचाइमा पुर्याउने उहाँको विश्वास छ।
प्रकाशित मिति: १ असार २०८२, आईतवार १४:५७