छोरीहरुलाई आफ्नो अधिकारमा सचेत, सवल, सक्षम तथा आत्मनिर्भर बनाउन कर्णाली छोरी सम्मेलन गर्न लागिएको छ।
भोली देखि सुरु हुने छोरी सम्मेलन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुहुनेछ। सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउण्डेशनको आयोजनामा सोमवारसम्म संचालन हुने छोरी सम्मेलनमा कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
ज्योति फाउण्डेशनका अध्यक्ष ज्योति कटवालले कर्णालीका छोरीहरू आफैंमा कमजोर नभई अधिकार र अवसरबाट बन्चित भएको कारणबाट नै कमजोर देखिएका हुन् भन्ने वास्तविकताको वोध गर्नु र गराउनु पनि यस सम्मेलनको मूल उद्देश्य रहेको बताउनुभयो।
कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको उज्ज्वल भविष्यको चित्र कोर्ने अभिप्रायले आयोजना हुन लागेको यस सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय तहबाट २÷२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाटथप दुई दुईजना गरी करिब दुई सय जना छोरीहरूको सहभागिता रहने जानकारी उहाँले दिनुभयो।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका छोरीहरुको समस्यावारे बुझ्न, आगामी नीति तथा कार्यक्रममा त्यसको समाधानवारे योजना बनाउन छोरी सम्मेलनमा सहभागिता जनाएको बताउनुभयो।
कर्णालीका छोरीहरु कम छैनन् भनेर छोरीहरुले गरेको सफलताका वारेमा पनि जानकारी गराउन सम्मेलनले सहयोग पुर्याउने उहाँको भनाइ छ।
तीन दिनसम्म हुने सम्मेलनमा विभिन्न बहसहरु हुनेछन्। सम्मेलनमा राजनीतिमा कर्णालीका छोरी, शिक्षित छोरी किन जरूरी ?, स्वस्थ छोरी, स्वस्थ कर्णाली, कर्णालीका सारथि, कानुनी सेवामा कर्णालीका छोरी, कर्णालीका खेलाडी छोरी, महिनावारीका सकस, आमाका कुरा, महिनावारीको सकस, हामी सक्छौं तथा कर्णालीका कोइली, कर्णालीका न्याउली शीर्षकहरूमा बहस हुने जनाइएको छ।
सम्मेलनमा करिव ६० लाख लागत लाग्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार १८:१९