
सुर्खेत । भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशले केन्द्रीय समितिका पदाधिकारीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भट्टराई परिवारमा अनुशासनसँगै संस्कार तथा संस्कृतिको पालना गर्दै परम्परालाई निरन्तता एवं आपसी एकता तथा भाईचारा कायम गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
पानसमा दीपप्रजोलन, कुलमन्त्र वाचन तथा बशिष्ठ ऋषिको फोटोमा पुजा गरी शुरु भएको कार्यक्रममा दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, सल्यान र सुर्खेतका भट्टराईहरुको उपस्थिति रहेको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भट्टराईले देश विदेशमा रहेका आफ्ना सन्तान एवम् सन्ततिहरुमा कुल पूजा तथा वंशावलीको महत्वका बारेमा बुझाउनु पर्ने बेला आएको बताए ।
उनले वंशावलीको खोजी र पारिवारिक अन्तरक्रिया तथा भेट्टघाटका माध्यमबाट पूर्व झापादेखि पश्चिम महाकालीको कन्चनपुरसम्म रहेका भट्टराईलाई एकताको सुत्रमा जोड्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्न आग्रह गरे ।
‘पूर्वजले गरि ल्याएको संस्कार परम्परा र इतिहासलाई हामी उत्तराधिकारीहरुले ईमानदारीताका साथ संरक्षण सम्बद्र्धन गर्दै भावी पिडिलाई उन्नत एवं सकुशल हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो,’ उलने भने, ‘संस्थागत रुपमा योजनाबद्ध तरिकाबाट भूमिका निर्वाह गर्नु पर्छ । राज्यका आधारभुत दायित्वहरु परिपालना गर्न, समयानुकुल आधुनिकीकरण र प्रविधीमैत्री बन्दै अक्षयकोषको दिगो परिचालन र संस्थागत दिगो विकासलाई स्थायित्व दिनु पर्छ ।’

उनले विश्वमञ्चमा भट्टराई कुलबंशीको उपस्थितीलाई थप प्रभावकारी बनाउँदै सशक्तरुपले साझा कर्तव्यका लागि अघि बढ्नु पर्नेमा जोड दिए । उपाध्यक्ष यज्ञप्रसाद भट्टराईले कर्णालीमा रहेका अधिकांश भट्टराई परिवारको नामावली संकलन गरी वंशावलीमा समावेश गर्नुपर्ने कार्य ढिलाई भईरहेकोले साथ दिन सबैसँग आग्रह गरे ।
उनले अन्य प्रदेशको तुलनामा कर्णालीमा भट्टराई परिवारको नामावली संकलन कार्य कठिन भएकोले सम्बन्धित भट्टराई परिवार नै सचेत र जागरुक हुन आवश्यक रहेको औल्याए । कार्यक्रममा महासचिव जिवराज भट्टराईले भट्टराई परिवारमा गोठाधि विधि कुल देवताको पुरश्चरण विधिका साथै कुल पुजाको वारेमा जानकारी दिए । प्रतिष्ठानका सल्लाहकार तथा समाजसेवी शिवप्रसाद उपाध्यायले भट्टराईको कुल देवता मष्ट रहेको र मष्टको एकसय आठ प्रकारका रहेको बताए ।
प्रतिष्ठान कर्णालीका अध्यक्ष कांशीराम भट्टराईको अध्यक्षता तथा केन्दीय अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद उपाध्याय, महासचिव जिवराज भट्टराई, सचिव मनोजकुमार भट्टराई, केन्दीय सदस्य देवी भट्टराई र प्रेमप्रसाद भट्टराई सल्लाहाकार शिवप्रसाद (उपाध्याय) भट्टराई, गंगाराम भट्टराई, खगेन्द्रप्रसाद भट्टराई लगायतले बशिष्ठ गोत्री भट्टराई कुलवंशको समृद्धिका लागि योजनवद्ध तरिकाले अघि बढ्न आवश्यक रहेको औल्याए ।
हालसम्म वंशावली दर्पणमा भट्टराईको युग जुम्लाको सिंजाबाट शुरु भएको र सिंजाबाट लम्जुङ्ग बाग्लुङ्ग सिन्धु गोरखा गामनाङ्ग चिशंखु सालु खण्डमा विभाजन भै रहेको परिदृष्य इतिहासबाट र वंश दर्पणबाट पाउने गरिएको भट्टराईहरु नै बताउँछन् ।
कर्णालीका दश जिल्ला मध्ये सुर्खेत, दैलेख जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला र सल्यानमा भट्टराई कुलवंश प्रतिष्ठान गठन भई विधान बमोजिम पालिका र वडा स्तरिय समिति गठन हुन बाँकी रहेको प्रतिष्ठान कर्णालीका सचिव शोम भट्टराईले बताए ।