अस्ट्रेलिया, ९ साउन । जनसम्पर्क समिति अस्ट्रेलियाले आइतबार एक कार्यक्रमबीच विपी स्मृति दिवसको उपलक्ष्यमा वीपीका आर्दशहरुलाई सम्झने प्रयास गरेको छ । विपीका आर्दश र मूल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नै अहिलेको आवश्यकता रहेको स्मृति दिवसमा भेला भएका बक्ताहरुले सुनाए ।
हामीहरु त्यस्तो व्यवस्था खडा गर्न चाहन्छौं जसले गरीबको हित गरोस् । नेपाल भन्ने बित्तिकै गरीबको नेपाल हो । त्यो झुपडी र छाप्रोको नेपाल हो । त्यसैले नेपालमा उन्नति भनेको ठूला ठूला धनिको उन्नति होइन । किसानको उन्नति, मध्यम वर्गको उन्नति, शिक्षक र कर्मचारीको उन्नति तथा सुकुम्वासीको उन्नति गर्ने नै समाजवादी दृष्टिकोण भएको धारणा राखेका थिए ।
विपीको यो समाजवादी बिचार वाचन गर्दै प्रारम्भ गरिएको कार्यक्रममा वक्ताहरुले काँग्रेसले आफ्ना मूल्य र मान्यता बिर्सेको कारण धेरै पटक ठक्कर खानु परेकोमा आक्रोस पोखे ।
नेपाली कांग्रेसले अख्तियार गरेका मूल्य र मान्यताहरुसँगै देशकाल परिस्थिति र सर्वसाधारण समर्थकहरुको भावना र चाहना प्रतिविम्बित हुने गरी कार्यान्वयन गर्दै अगाडि बढेमा मात्र विपीको सच्चा श्रद्धान्जली हुने एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बताए ।
विसं २००३ सालमा देवव्रत परियार संस्थापक सदस्य बनेको अनि २००५ सालमा आरबी गहतराज निर्वाचित भएको तथा बिसं २००९ मा धनमान सिंह परियारलाई महामन्त्रीमा मनोनित गरेको नेपाली कांग्रेसको इतिहासले विपीको कुसंस्कार अनि जातीय छुवाछुत विरुद्धको सोच छर्लङ्ग पारेको सिग्देलले बताए ।
कार्यक्रममा जनसम्पर्क समितिका संरक्षक प्रेम सापकोटाले विपी बाबुको भनाइ उद्धत गर्दै भने किसान भनेको देशका नब्बे प्रतिशत जनता हो र प्रजातन्त्र भनेको त्यही नब्बे प्रतिशत जनता हो ।’ यस्ता बिचार बोकेर काँग्रेसलाई जिवन्तता दिने विपी पथमा काँग्रेस अगाडि बढ्न नसक्दा अहिले दु,ख पाउनु परेको सापकोटाले बताए ।
कार्यक्रममा एनआरएनका सदस्य बिवेक थापाले विपीको सच्चा अनुयाइ बन्न समाजवादी बन्नु जरुरी भएको बताए । मुलुकको परिवर्तनसँगै बिपीको राष्ट्रवाद र समाजवादलाई अगाडि बढाउने नेताको खाँचो रहेको थापाले औलाए ।
कार्यक्रममा एनआरएन आइसीसी पूर्व सदस्य निरज श्रेष्ठले सात समन्द्र पारी अस्ट्रेलिया आएर विपी सम्झनु आफैमा गौरवको बिषय भएको बताए ।
कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले विपीको सिद्धान्तलाई ब्यवहारमा लागु गर्न सके उनको सच्चा श्रद्धान्जली हुने कुरा बताए ।
कार्यक्रममा एनआरएनका सदस्य नन्द गुरुङ, एनआरएन एनएसडब्लुका सल्लाहकार थानु शाक्य, सचिव भुपाल सिटौला, हिरा कडेंल, भिमराज सुब्बा, निर्जन चौलागाइ, रोहित खड्का, माधव गैरै लगायतले विपीको संझनागर्दै उनको पथमा हिड्न सके मात्र काँग्रेस र काँग्रेजनको हित हुने बताए ।
प्रकाशित मिति: ९ श्रावण २०७३, आईतवार १७:३५