सुर्खेत ट्राफिक प्रहरीले सवारीसाधनको गति जाँच गर्ने कार्य सुरू गरेको छ।
दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले वीरेन्द्रनगरका विभिन्न स्थानमा गति जाँच कार्यको सुरूआत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले सुर्खेतमा सवारी दुर्घटनाको पहिलो कारण तीव्र गति देखिएकोले राडर गनमार्फत सवारी साधनको गति जाँच गरिरहेको बताउनुभयो।
उहाँले कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा १ हजार ८३ वटा सवारी साधन दुर्घटनामा परेको बताउनुभयो।
सबैभन्दा बढी सुर्खेतमा ६७३ वटा सवारी साधन दुर्घटनामा परेका छन।
सुर्खेतमा भएका दुर्घटनामा ५७ प्रतिशत तीव्र गतिका कारण भएको भन्दै सवारी दुर्घटनाको पहिलो कारण तीव्र गति देखिएकोले हामीले गति मापनको कार्य थालेको बताउनुभयो।
गत वर्ष कर्णालीमा १४ सय ४६ वटा सवारी साधन दुर्घटनामा परेकोमा सुर्खेतमा मात्रै ११ सय ९८ रहेका छन।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चाडपर्व लक्षित चेकिङ पनि सुरू गरेको छ।
दसैँ तिहारमा आवतजावत गर्ने मान्छेहरूको भीडभाड हुने भएकोले यसलाई मध्यनजर गर्दै सवारी चेकिङ सुरू गरिएको जिल्ला ट्राफिक प्रमुख सुनारले बताउनुभयो।
नागरिकको सहजताका लागि सुर्खेतका ५ ठाउँ वीरेन्द्रनगर बसपार्क, कपासे, छिन्चु, बबई र बड्डीचौरमा नागरिक सहायता कक्ष पनि राखिएको छ।
सहायता कक्षमा ११ जना ट्राफिक प्रहरी खटाइएको उहाँले बताउनुभयो।
‘यो सँगै चाडपर्वको समयमा मापसे चेकिङ पनि कडाईका साथ गरिरहेका भन्दै जनशक्ति पनि बढि खटिएर जाँच गरिरहेको उहाँको भनार्इ छ।
सवारी दुर्घटना न्यूनीकरणको लागि जनचेतना फैलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाहीको दायरमा ल्याइरहेको उहाँको भनार्इ छ।
प्रकाशित मिति: २० आश्विन २०८१, आईतवार १७:१९