भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यका लागि शनिबारदेखि छवटै नगरपालिकाका विभिन्न वडामा समूह बनाएर इन्जिनियरसहितको टोली गाउँ गाउँ गएको उहाँले जानकारी दिए ।
पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने बाँकी थियो ।
लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१, सामाजिक परिचारक १२१ र प्रति १० जना सामाजिक परिचारक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिएको छ ।
आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्पपछि गरिएको लगत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिने भएको छ । बज्राचार्यले भने – “भूकम्पपीडितको परिचयपत्र लिएकाहरु र विगतका सर्वेक्षणमा नाम छुटेकाहरुको घर घरमा गएर पुनः सर्वेक्षण गरेर लगत सङ्कलन गरिन्छ ।”
भूकम्पपीडितमध्ये नयाँ घर बनाइसकेकाको पनि भूकम्पले भत्काएका घरको तस्बिरका आधारमा सर्वेक्षण गरिने भएको छ ।
भूकम्पपीडितको नामावली छुटेकाहरुले भक्तपुरका छ वटा नगरपालिकामध्ये आफ्ना सम्बन्धित नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था गरेअनुसार नगरपालिकामा आएका निवेदनका आधारमा छुटेका भूकम्पपीडितको घरमै गएर सर्वेक्षण गरिने भएको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भूकम्पपीडितको परिचयपत्र लिएका र नगरपालिकामा नाम छुटेर आवेदन आएका पीडितको पुनः लगत सङ्कलन सुरु भएको बताए ।
रासस